खोटाङ।
नेपाली कम्युनिष्ट पार्टी खोटाङबाट उम्मेदवार डा. हरी रोकाले निर्वाचनका लागि २८ लाख दुई हजार खर्च गरेका छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवार रोकाको लागि विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको हो ।
रोकाको तर्फबाट विभिन्न नौं शीर्षकमा भएको खर्च बिवरण चैत्र १ गते जिल्ला निर्वाचन कार्यालय खोटाङमा पेस गरेका छन् । उम्मेदवार रोकाको निर्वाचन प्रतिनिधि होमकाजी आचार्य(विनोद)का अनुसार सबैभन्दा बढी बुथका लागि खर्च भएको छ । १ सय ९५ वटा बुथमा १४ लाख १५ हजार रुपैंयाँ खर्च भएको प्रतिनिधि आचार्यले उल्लेख गरेका छन् ।
यस्तै, ३ लाख ५५ हजार रुपैंयाँ ईन्धनमा, ३ लाख ५० हजार अपील, प्रतिबद्दतापत्र तथा नमुना मतपत्र छपाई र २ लाख १० हजार रुपैंयाँ गाडी भाडाका लागि खर्च गरिएको छ । बुझाईएको बिवरणमा १ लाख ८५ हजार रुपैंयाँ सचिवालय सञ्चालन, १ लाख ८२ हजार रुपैंयाँ खाना तथा खाजा ९२ हजार मिडियामा प्रचारप्रसारका लागि खर्च भएको छ । रोकाको १० हजार रुपैंयाँ मनोनयन खर्च र ३ हजार रुपैंयाँ जिल्लाभरीको मतदाता नामावली खरिदमा खर्च भएको छ ।
दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लाबाट डा. हरि रोकाले नौँ हजार ४ सय ४३ मत ल्याउँदै चौथो स्थानमा रहेका थिए । १६ हजार ६ सय १२ मत प्राप्त गरी श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित भएका छन् । एक निर्वाचन क्षेत्र तथा दश स्थानीय तह रहेको जिल्लामा १ सय ३६ वटा मतदानस्थल रहेको छ । खोटाङमा कुल एक लाख ४७ हजार १ सय २० मतदातामध्ये ६२ हजार ५ सय ६६ मत खसेको थियो ।
प्रत्यक्षतर्फ खसेको मतमध्ये तीन हजार ९ सय २८ मत बदर भएको पाइएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिएका छन् ।












प्रतिक्रिया