काठमाडौं।
चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिना (साउनदेखि फागुनसम्म)मा सरकारले ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम सो अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ८२.६० प्रतिशत मात्रै हो । सरकारले फागुन मसान्तसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । फागुन महिनामा मात्र ८२ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम फागुन महिनाको लक्ष्यको ८५.४६ प्रतिशत हो । सरकारले उक्त महिनामा ९६ अर्ब ५७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तय गरेको थियो।
सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्बभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर आठ महिना बितिसक्दा कुल लक्ष्यको झन्डै आधा मात्रै राजस्व उठेको देखिन्छ । अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्म ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको करिब ५०.४९ प्रतिशत मात्रै हो ।
राजस्व संरचनामा कर राजस्वको हिस्सा प्रमुख रहेको छ । आठ महिनामा कर राजस्व ६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ भने गैरकर राजस्व करिब ७० अर्ब रुपैयाँ संकलन भएको छ । यस अवधिमा सरकारले १३ अर्ब रुपैयाँ अनुदान पनि प्राप्त गरेको छ । सरकारको आम्दानी र खर्चबीचको अन्तर भने बढ्दो देखिएको छ । आठ महिनामा कुल राजस्व करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ हुँदा सरकारी खर्च ९ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसले बजेट घाटा २ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको देखाउँछ खर्चतर्फ चालु खर्चको हिस्सा उच्च देखिएको छ । फागुनसम्म सरकारको चालु खर्च ६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ, जुन वार्षिक लक्ष्य ११ खर्ब ५० अर्ब रुपैयाँको ५४.३७ प्रतिशत हो । यता विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च भने अत्यन्त न्यून रहेको छ । आठ महिनामा पुँजीगत खर्च जम्मा ७८ अर्ब रुपैयाँ मात्रै भएको छ, जुन वार्षिक लक्ष्यको करिब १९.२४ प्रतिशत हो । आर्थिक वर्षको दुई तिहाइ समय बितिसक्दा पनि विकास खर्च २० प्रतिशत नपुग्नुले विकास आयोजनाको कार्यान्वयन कमजोर रहेको संकेत गरेको छ ।











प्रतिक्रिया