पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव: पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना


काठमाडौँ ।

देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली भएको छ। अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।