काठमाडौं ।
नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा रहेका पृतनाहरूको निरीक्षण भ्रमण गरेका छन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार फागुन १४ गते प्रधान सेनापति सिग्देलले धनगढीस्थित सुदूरपश्चिम पृतना र सुर्खेतस्थित उत्तर–पश्चिम पृतनाको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा उनले सम्बन्धित पृतनाहरूको जिम्मेवारी क्षेत्रभित्र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा तयारी, समसामयिक सुरक्षा अवस्था तथा परिचालन योजनाबारे जानकारी लिएका थिए। उनले प्राप्त जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न निर्देशनसमेत दिएका छन्।

भ्रमणका क्रममा प्रधान सेनापतिले प्रदेश कमाण्ड पोस्ट तथा निर्वाचन सुरक्षासँग सम्बद्ध अधिकृतहरूसँग भेटघाट र अन्तरक्रिया गरेका थिए। उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायबीच समन्वय र सतर्कता अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा संयन्त्र सक्रिय भइरहेका बेला प्रधान सेनापतिको यो निरीक्षण भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।











प्रतिक्रिया