गण्डकी स्कुलको २२औँ वार्षिकोत्सव सम्पन्न, विद्यार्थीले देखाए बहुआयामिक प्रतिभा


काठमाडौं।

गण्डकी पब्लिक बोर्डिङ स्कुलको २२औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका–१६, म्हेपिमा अवस्थित विद्यालयले वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्षमताको उत्कृष्ट प्रस्तुति सार्वजनिक गरेको हो ।

गत आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख डा. समन्तमणि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उनले शिक्षाले व्यक्तित्व निर्माणसँगै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालयले संस्कारयुक्त र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रामप्रसाद अर्यालले गरेका थिए ।
उनले विद्यालयको निरन्तर प्रगति अभिभावकको साथ, शिक्षकहरूको समर्पण र समुदायको सहयोगका कारण सम्भव भएको उल्लेख गर्दै संस्थालाई नयाँ उचाइमा पुर्‍याउन सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताए ।

वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न विधामा उत्कृष्ट विद्यार्थी तथा योगदानकर्तालाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो ।
विद्यार्थीहरूले नृत्य, गायन, नाटक लगायत विविध सिर्जनात्मक प्रस्तुति मार्फत आफ्नो बहुआयामिक प्रतिभा प्रदर्शन गरेका थिए ।
आफ्ना बालबालिकाको प्रस्तुति अवलोकन गर्दै अभिभावकहरू उत्साहित देखिन्थे ।
विशेष अतिथिका रूपमा काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा तथा काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष गगनसिंह ऐरको उपस्थिति रहेको थियो ।

साथै विद्यालयका कार्यकारी निर्देशक दोर्णबहादुर अधिकारी, प्रिन्सिपल आरसी भट्ट, शिक्षक तथा कर्मचारीहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रिन्सिपल भट्टले अतिथि तथा अभिभावकहरूलाई स्वागत गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, प्रविधिमैत्री शिक्षण पद्धति र समग्र व्यक्तित्व विकासमा निरन्तर जोड दिँदै आएको बताए ।

अभिभावक र विद्यालयबीचको सुदृढ सहकार्यबाट नै विद्यार्थीको उज्ज्वल भविष्य निर्माण सम्भव हुने विश्वास उनले व्यक्त गरे ।
विद्यालयको २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको विद्यालयले जनाएको छ ।