बाँके ।
नेपालगञ्जमा चुनावी माहोल तातिसकेको छ । पार्टीका नेता तथा उम्मेदवारलाई मतदाताकहाँ पुग्न भ्याई–नभ्याई छ । उनीहरू हात जोड्दै मतदाताको घर–घरमा पुगिरहेका छन् । नेपालगञ्जका चोक–चोकमा उम्मेदवारहरू ठोक्किरहेका छन् ।
कुनै बेला नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको चुनावी क्षेत्र रहेको बाँके क्षेत्र नम्बर २ मा आफूलाई स्थापित गराउन उम्मेदवारहरू दौडधुप गरिरहेका हुन् । विगतलाई हेर्दा पछिल्लोपटक २०७० मा यहीँबाट चुनाव जितेर कोइराला प्रधानमन्त्रीसमेत हुनुभयो । २०४८ सालदेखिका चुनावमा कोइरालाले पटक–पटक जितेकाले यो क्षेत्रलाई कांग्रेसको ‘गढ’ भन्ने गरिन्थ्यो ।
२०७४ मा कांग्रेस पराजित हुन पुग्यो । संघीय समाजवादीका मोहम्मद इस्तियाक राई निर्वाचित हुनुभयो । २१ हजार ५ सय ७५ मत ल्याएर निर्वाचित हुनु भएका राई पटक–पटक मन्त्री हुनुभयो । मन्त्री हुँदा राईले यस क्षेत्रमा राम्रै विकास गर्नुभएको छ ।
२०७९ मा आइपुग्दा यो क्षेत्रबाट राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा निर्वाचित हुनुभयो । एमालेसँगको गठबन्धनबाट २९ हजार ५ सय ७७ मत ल्याएर डा. राणा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी मोहम्मद इस्तियाक राईले २३ हजार ५ सय २० मत ल्याउनुभएको थियो । कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका विनोदकुमार अग्रहरीले १ हजार ३ सय ३३ मत ल्याउनुभएको थियो ।
निर्वाचनका नतिजाहरू हेर्दा यो क्षेत्रमा कोही लगातार दोहोरिएका छैनन् । सुशील हुँदासम्म कांग्रेसको गढ मानिएको बाँके २ नम्बरमा फोरम हुँदै राप्रपाले किल्ला जमाउन पुगेको थियो ।नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका मिसिएको यो क्षेत्रमा राप्रपा विरासत जोगाउन लागेको छ भने कांग्रेस र इस्तियाक विरासत फर्काउन लागिपरेका छन् ।
राप्रपाले सहायक महामन्त्री ऋषिराज देवकोटा, कांग्रेसले जिल्ला सचिव सुधांशु कोइराला, मो. इस्तियाक राई एमालेबाट चुनाव लड्नुभएको छ । गएको चुनावमा खासै उपस्थिति देखाउन नसकेको रास्वपाले विवेककुमार श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीले दीपेन्द्र विष्टलाई उम्मेदवार बनाएको छ ।
कोइराला परिवारबाट नै उम्मेदवार बनाएको कांग्रेस र एमालेबाट उम्मेदवार बनेका राई पुरानो विरासत फर्काउने धुनमा हुँदा राप्रपाका देवकोटा विरासत जोगाउन लागि पर्नुभएको छ । रास्वपाका श्रेष्ठ देशव्यापी लहर देखाउँदै हिँड्दा नेकपाका विष्ट पनि कस्सिएर लाग्नुभएको छ ।
यो क्षेत्रमा १ लाख ८ हजार २ सय ९० मतदाता छन् । पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको यहाँ यसपालि कसको पल्ला भारी हुन्छ भन्न सकिने अवस्था छैन । २० जना उम्मेदवार जित निकाल्न दौडिरहेका छन् । पछिल्ला निर्वाचनहरूमा जनप्रतिनिधि परिवर्तन गरिरहने नेपालगञ्जले यसपालि कसको भाग्य चम्काइदिन्छ हेर्न बाँकी नै छ ।











प्रतिक्रिया