गुल्मी ।
प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले गुल्मी जिल्लामा पाँच दिनसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको सहमतिपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार फागुन १६ गतेदेखि २१ गतेसम्म जिल्लाभित्र मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन गर्न नपाइने निर्णय गरिएको हो।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन यस्तो निर्णय गरिएको जानकारी दिए।
उनले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन प्रशासन प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्णयको कडाइका साथ कार्यान्वयन गरिने बताए।
निर्णय उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानूनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले नियमित अनुगमन तथा संयुक्त गस्ती परिचालन गर्ने पनि जनाएको छ।
सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि प्रशासनको निर्णयमा सहमति जनाउँदै शान्तिपूर्ण निर्वाचनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई निर्णयको पालना गर्न अपिल गरेको छ।











प्रतिक्रिया