अमेरिकामा मारिएका तीनै जना उदयपुरको बेलका नगरपालिकाका भएको पुष्टि

14.66k
Shares

उदयपुर ।

 सोमबार अमेरिकाको भर्जिनियामा भएको हत्या काण्डमा मारिने तीनै जना उदयपुरको बेलका नगरपालिका ९ रामपुर बजारका रहेको खुलेको छ ।

उदयपुरको बेलका ९ रामपुरका स्थानीय जयराम मगरले दिएको जानकारी अनुसार गत कार्तिक महिनामा अमेरिकामा रहेका आफ्नो छोरी ज्वाइँले बोलाएर बेलका ९ रामपुरका छत्र बहादुर थापा क्षेत्री र निजकी श्रीमती विमला थापा अमेरिका गएका थिए । 

छत्र बहादुर थापा मानसिक रोगी भएकोले उपचार गराइरहेका थिए । तर सोमबार छत्र बहादुरले अकस्मात् आफ्नी श्रीमती विमलालाई आक्रमण गरेर हत्या गरे । छोरी ममता थापा बस्नेतले विभत्स घटनादेखेपछि बुवालाई गाली गर्न लाग्दा छत्र बहादुरले छोरीमाथि पनि आक्रमण गरेर हत्या गरेका थिए । आक्रमण रोक्न खोज्दा छत्रका ज्वाइँ सन्तोष बस्नेत घाइते भएका छन् भने डेढ वर्षिया नातिनी भने सकुशल रहेको बताइएको छ ।

अमेरिकी प्रहरीमा यो  घटना बारे जानकारी दिएपछि प्रहरीले छत्र बहादुरलाई पटक पटक नै आत्मसमर्पण गर्न भनेकामा नमानेपछि अमेरिकी प्रहरीले ठाउँको ठाउँमै गोली हानेर ज्यान लिएको थियो ।

बेलका नपा ९ का वडाध्यक्ष भरत घिमिरेले अमेरिका छत्रसहित ३ जनाको ज्यान गएको जानकारी दिंदै छत्रको घर रामपुरमा अहिले रुवाबासी छ भने घरमा अविवाहित १ छोरा र १ छोरी रहेका छन् । छत्रका २ छोरी मध्ये जेठी छोरीको विवाह भै एक नातिनी रहेको र छोरी, ज्वाइँ , डेढ वर्षकी नातिनी सहित केही वषदेर्खि छोरी अमेरिका बस्दै आएकी थिइन ।

यस विषयमा उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईले आफूले पनि सामाजिक सञ्जालबाट बेलका ९ का तीन जनाको अमेरिकामा ज्यान गएको जानकारी पाएको र रामपुरस्थित ट्राफिक प्रहरी विटसँगै घर रहेको भन्ने जानकारीसम्म पाएको र आधिकारिक रुपमा कुनै जानकारी नआएको बताए ।