भैंसेगौडा दुर्घटना:  सामग्रीको अभावले पाँच घण्टापछि मात्र घाइतेको उद्धार

3.38k
Shares

धादिङ

लाइफलाइन मानिएको राजमार्गबाट दुर्घटनामा परेको यात्रुवाहक बसबाट ५ घण्टा लगाएर बसमा च्यापिएका एक मानिसको जीवित उद्धार गर्न सकिएकोमा उद्धारकर्मीहरु खुसी भए ।

अप्ठेरो स्थान, राजमार्गबाट सडकबाट बस नदी किनारमा पुगेको स्थान पुग्नका लागि नदी तरेर अनि डुंगामा फर्किनु पर्ने स्थान बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ भैँसेगौडामा सोमबार बिहान सवा १ बजेतिर भएको दुर्घटनामा च्यापिएका ललितपुर जिल्ला इमाडोलका २७ वर्षीय कृष्णराज मानन्धरको दुर्घटना भएको पाँच घण्टामा उद्धार गरिएको हो ।

च्यापिएका मानन्धर मलाई पनि बचाउनुस् भनेर कराइरहेका थिए । उनले जति आग्रह गरेपनि उद्धारकर्मीहरूले घाइते  धेरै भएको र बेहोस भएकाहरुको सुरुमा उद्धार गर्न लागे । शव  निकालियो । घाइतेहरू निकालियो।  तर, मानन्धर भने बसको सिटमा च्यापिएको अवस्थामा कराइरहेका थिए । तालिमप्राप्त टोलीले समेत घाइते निकाल्न सकेन ।

राजमार्गमा हुने दुर्घटनामा तत्काल उद्धार गर्न, राजमार्गमा अवरोध भए तत्काल खोल्न र उपचारको व्यवस्था समेत मिलाउन सरकारले सुरक्षाकर्मी र निकायलाई आदेश दिने गर्छ ।

राजमार्गमा हुने साना दुर्घटनामा गरिने उद्धारभन्दा ठूला र अप्ठेरो स्थानमा भएको दुर्घटनामा गरिने उद्धारमा सुरक्षाकर्मीले अप्ठेरो अवस्था भोगिरहेको छ ।

तालिम लिएका सशस्त्र  प्रहरी, नेपाल प्रहरीमासमेत मानिसहरु छन् तर उद्धार सामाग्री अभावले समयमै उद्धार हुन नसक्ने अवस्था आउने गरेको र घाइतेको ज्यानै जाने गरेको उद्धारमा सम्लग्नहरुको  तितो अनुभव छ ।

दुर्घटना स्थलमा सबैभन्दा पहिला पुगेका उद्धारकर्मी राफ्टिङ गाइड अरुण थपलियाका अनुसार बस झरेको स्थान सडकबाट जान नसकिने अवस्थामा थियो । नदीको तलबाट बोट ल्याउन सकिएन । नदी पारी गएर घटनास्थलमा पुग्दा समय लागेको र उद्धार सामाग्री पर्याप्त नहुँदा सबै यात्रु बचाउन कठिन भएको बताए ।

”राजमार्गमा हुने दुर्घटनामा  उद्धारका लागि तेजगतिको उज्यालो, हाइड्रलिक कटर, चेनपुली, लगायतका सामाग्री नभएकोले यसपटकको दुर्घटनामा एकजना यात्रुलाई दुर्घटनाको पाँचघण्टामा बल्ल निकाल्न सकियो” थपलियाले बताए ।

सोमबार बिहान भएको दुर्घटनास्थलमा केही समयमै पुगेका  स्थानीय बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कुमार बस्नेतले आँखै अगाडी धेरैजनाको मृत्यु भएको पहिलो पटक देखेको बताए । भिरको मुनी त्रिशुलीनदी किनारमा परेको बसबाट यात्रुलाई डुङगाको सहायताले उद्धार गरिएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रमुख सुमित खड्का, ससस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटको डिएसपि सुनिल गिरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरसहितको टोली उद्धारमा संलग्न  थियो ।

पोखराबाट काठमाडौँ आउँदै गरेको माछापुछ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४ २१ नम्बरको यात्रुबहाक बस पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर  ५ भेँसेगौडाबाट त्रिशूली नदीमा खस्दा १८ जना यात्रुले ज्यान गुमाए । २६ जना यात्रु घाइते भए । मृतकमध्ये ४ महिला र १४ पुरुष छन् । २ जना विदेशी नागरिकको मृत्यु भएको छ ।