नागरिकता नपाएको भन्दै इलाका प्रशासनमा धर्ना

3.48k
Shares

रौतहट ।

नागरिकता नपाएको भन्दै चन्द्रपुर नगरपालिका–१ का सेवाग्राहीहरूले आइतबार इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको मूल ढोकामै धर्ना दिएका छन्। वडाअध्यक्ष बलराम राउतसहित स्थानीय सेवाग्राहीहरू कार्यालय अगाडि धर्नामा बसेका हुन्।

चन्द्रपुर–१ की निमालाम्हु भुटियाले करिब एक महिनादेखि नागरिकताका लागि धाउँदा पनि प्रशासन प्रमुख माधवप्रसाद शर्माले विभिन्न बहाना बनाएर झुलाएको आरोप लगाइन्। “निवेदन दिएको एक महिना हुन लाग्यो नागरिकताको लागि धाउँदा निकै सास्ती भयो,” उनले भनिन्, “सेवाग्राहीलाई यसरी दुःख दिनु उचित होइन।”

उनका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटले गत माघ २० गते नै पत्राचार गर्दै निमालाम्हुलाई नागरिकता दिनु पर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। तर, इलाका प्रशासन प्रमुख शर्माले उक्त पत्रको बेवास्ता गर्दै आफूबाट नागरिकता दिन नमिल्ने बताएको आरोप छ। उनले जिल्ला प्रशासन कार्यालय गौरबाटै नागरिकता बनाउन सुझाव दिँदै पन्छिन खोजेको निमालाम्हुको भनाइ छ।

वडाअध्यक्ष राउतले वडा कार्यालयबाट सिफारिससहित आवश्यक सबै प्रक्रिया पूरा गरिएको भए पनि नागरिकता नदिइएको बताए। “दुःख दिने नियतले नागरिकता रोकिएको जस्तो देखिन्छ,” उनले भने।

धर्नापछि सेवाग्राहीहरूले प्रमुखको कार्यकक्षमा पुगेर सोमबार दिउँसो १२ बजेसम्म नागरिकता उपलब्ध गराउन अल्टिमेटम दिएका छन्।