अमेरिकी इन्डो प्यासिफिक कमान्ड प्रमुखको भ्रमणबारे सरकार किन मौन ?

निर्वाचनको मुखैमा भएको भ्रमणबारे विभिन्न टीकाटिप्पणी

1.41k
Shares

सुरक्षा वृत्तमा चासो

काठमाडौं ।

अमेरिकी इन्डो–प्यासिफिक कमान्डका प्रमुख एडमिरल सामुएल जोन पापारो जुनियर नेतृत्वको ३२ सदस्यीय उच्चस्तरीय टोली तीनदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए पनि सो भ्रमणबारे सरकारले केही बताएको छैन । भ्रमणलाई किन गोप्य राखियो भन्ने सम्बन्धमा विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् ।

माघ २९ गते नेपाल आएको टोली फागुन २ गते फिर्ता भएको थियो । भ्रमणको उदेश्यबारे नेपाल सरकारले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक नगर्दा कूटनीतिक तथा सुरक्षा वृत्तमा चासो बढेको छ ।

टोली अमेरिकी सेनाको एयरफोर्सको चार्टर उडान (एसएएम ६९४) मार्फत सिंगापुर हुँदै काठमाडौं आइपुगेको थियो । नेपाल बसाइका क्रममा टोलीले परराष्ट्रमन्त्री बालानन्द शर्मा र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेको जनाइएको छ । साथै, सो टोलीले काभ्रेको पाँचखालस्थित वीरेन्द्र पिस अपरेसनस ट्रेनिङ सेन्टरको भ्रमण गरेको थियो ।

नेपालस्थित अमेरिकी दूतावासले आफ्नो वेबसाइटमार्फत पाँचखालमा आयोजित औपचारिक कार्यक्रममा विश्व शान्ति स्थापना र विपद् व्यवस्थापनका क्षेत्रमा नेपाल–अमेरिका सहकार्यका विषयमा छलफल भएको उल्लेख गरेको छ । तर, उक्त भ्रमणको समग्र रणनीतिक उद्देश्य, सुरक्षा सहकार्यको नयाँ आयाम वा सम्भावित सम्झौताबारे सरकारी तहबाट विस्तृत जानकारी दिइएको छैन ।

औपचारिक निमन्त्रणा, तर सार्वजनिक जानकारी शून्य
स्रोतका अनुसार टोली नेपाल सरकारको औपचारिक निमन्त्रणामा आएको थियो । तर, उच्चस्तरीय अमेरिकी सैन्य नेतृत्वको यस्तो भ्रमणबारे परराष्ट्र मन्त्रालय वा रक्षा मन्त्रालयले औपचारिक रूपमा कुनै जानकारी गराएको छैन । पत्रकार सम्मेलन वा विज्ञप्तिमार्फत स्पष्ट विवरण सार्वजनिक नगर्नुले अर्थपूर्ण मानिएको छ ।

यस विषयमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुसंग सम्पर्क राख्दा यो विषय रक्षा मन्त्रालयको भएकाले उतै सम्पर्क राख्न आग्रह गरेका थिए । उता, रक्षा मन्त्रालयका अधिकारीहरूले भने यो विषय परराष्ट्र मन्त्रालयको भएकाले उतै सम्पर्क राख्न भन्दै जिम्मेवारीबाट पन्छिएका थिए ।

भ्रमण अवधिमा टोलीले औपचारिक भेटघाटबाहेक केही विशिष्ट व्यक्तिहरूसँग अनौपचारिक छलफलसमेत गरेको बताइए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन ।

इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो भू–राजनीतिक प्रतिस्पर्धा, विशेषतः अमेरिका र चीनबीचको रणनीतिक तनाबका बीच अमेरिकी तीनतारे जर्नेलको नेपाल भ्रमणलाई कूटनीतिक वृत्तले अर्थपूर्ण रूपमा हेरेको छ । नेपालले परम्परागत रूपमा असंलग्न परराष्ट्र नीतिको अभ्यास गर्दै आएको सन्दर्भमा यस्ता उच्चस्तरीय सैन्य भ्रमणले क्षेत्रीय शक्ति सन्तुलनको बहसलाई पुनः सतहमा ल्याएको छ ।

सुरक्षा विश्लेषकहरूका अनुसार इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत अमेरिका क्षेत्रीय साझेदार मुलुकहरूसँग विपद् व्यवस्थापन, शान्ति स्थापनार्थ तालिम, आपतकालीन मानवीय सहयोग तथा सामरिक संवादलाई तीव्र बनाउन चाहन्छ । नेपाल शान्ति सैनिक आपूर्तिमा विश्वमै अग्रणी मुलुकमध्ये एक भएकाले पनि अमेरिकी चासो निरन्तर रहँदै आएको छ ।
भ्रमणमा को को सहभागी थिए ?

भ्रमण टोलीमा विभिन्न सैन्य, सुरक्षा तथा कूटनीतिक अधिकारीहरू सहभागी थिए । टोलीका सदस्यहरूमा ड्यानियल आइभी रोजर्स, म्याथ्यु निकोल्सन रोबिन्स, सामसन कास्टिल्लो रासाय, जस्टिन डेभिड म्याकक्रस्की, ब्रान्डन एड्वार्ड विलियम्स, रिचर्ड सौन ओहारा, स्टेभेन लुक मिलर, ब्रिजर एडेन हकिन्स, जेसन जोन वोलेन्स्की, ड्यानियल कार्लोन ड्रेयर, जोनाथन इबार्रा म्यान्डेल, लेभी वेस्ली जेसर, टिमोथी डाङ फाम, नाच्कायला जियाना स्टेफेन्स, मोर्गन लेभी फ्रिके, लाउरा एलेन सौल्डिस, निकोलस अलेक्जेन्डर बारोन, जोन लरेन्स व्हिस्लर, क्लोए ड्यानिएल मेलर, सुजाने पुआनानी भारेस लुम, रोबर्ट बटलर हिल्टन, डेभिड जोसेफ भास्केज, ड्यानियल फक्स डरहम, क्याथरिन एन ग्रीनली, जोनाथन क्रिस्टोफर लेजियर, सी. विलियम टोरेसन, जबथलब लेई जेन्किन्स भर्नन, सेहजी समिरा खान, एन्जल एर्नी हेराल्डेज, क्लोए जिलियन मोर्गन र पोर्सा लाट्रेस प्रिन्स रहेका छन् ।

तीनदिने उच्चस्तरीय सैन्य भ्रमणपछि पनि नेपाल सरकारको औपचारिक मौनताले पारदर्शिता र सूचनाको अधिकारका सवाल उठाएको छ । कूटनीतिक मर्यादा र रणनीतिक गोपनीयताको सन्तुलन कायम राख्दै यस्ता भ्रमणका प्रमुख बुँदा सार्वजनिक गरिनुपर्ने मतसमेत व्यक्त भइरहेको छ ।

यद्यपि, नेपाल–अमेरिका सम्बन्ध दीर्घकालीन सहयोग, शान्ति स्थापना, विपद् व्यवस्थापन र सुरक्षा संवादमा आधारित रहेकाले यो भ्रमणलाई दुई देशबीचको सहकार्य सुदृढीकरणको निरन्तरताका रूपमा पनि हेरिएको छ ।

सरकारले आगामी दिनमा भ्रमणको औपचारिक विवरण सार्वजनिक गर्ने वा नगर्ने भन्ने विषयले यस भ्रमणको वास्तविक कूटनीतिक सन्देशलाई थप स्पष्ट पार्नेछ ।