नेपाली सेना सवार बस भोजपुरमा २०० मिटर तल खस्यो, २४ घाइते


काठमाडौं ।

भोजपुर नगरपालिका–३ सेतीबगरमा नेपाली सेना सवार बस दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन्। भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न जाँदै गरेको नेपाली सेनाको टोली बोकेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङतर्फ जाँदै गरेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटना आज भएको हो। दुर्घटनामा घाइते भएका २४ जनामध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको भोजपुर प्रहरीले जानकारी दिएको छ।

अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। सडकको अवस्था, भौगोलिक जटिलता र सवारीको प्राविधिक पक्षबारे जाँच भइरहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।