शर्मा–रहमान भेट: द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने सहमति


काठमाडौं ।

तारिक रहमानले नेपालमा फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। मंगलबार राति ढाकामा बालानन्द शर्मासँग भएको भेटवार्ताका क्रममा उहाँले उक्त शुभकामना दिनुभएको हो।

सो अवसरमा मन्त्री शर्माले सुशीला कार्कीले पठाउनुभएको बधाई सन्देश हस्तान्तरण गर्दै रहमानलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिनुभएको थियो। साथै, बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक प्रक्रिया सुनिश्चित गरेकोमा सराहना व्यक्त गर्दै रहमान नेतृत्वको Bangladesh Nationalist Partyलाई बहुमत प्राप्त गरेकोमा बधाई ज्ञापन गर्नुभएको थियो।

भेटमा नेपाल र बङ्गलादेशबीच व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, शिक्षा तथा पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ।

यसअघि मन्त्री शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो। उहाँ बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।