चुनाव तीन धाराबीचको जनमत परीक्षण : पुष्पकमल दाहाल


रुकुमपूर्व ।

पुष्पकमल दाहालले जिल्लामा भदौ २३ र २४ गते भएका हत्या, आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्। चुनावी अभियानका क्रममा विकट क्षेत्रको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश जोगाउने शक्तिबीच प्रतिस्पर्धा चलिरहेको बताएका हुन्।

उनले विशेष गरी २३ गते साँझ भएको नरसंहार र २४ गतेको आगजनी घटनाप्रति सम्बन्धित पक्षले आत्मसमिक्षा गर्नुपर्नेमा ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक सङ्केत भएको उल्लेख गरे। गल्ती स्वीकार नगरे भविष्यमा यस्ता घटना दोहोरिन सक्ने उनले चेतावनी दिए।

२४ गते भएको आगजनी तथा तोडफोडमा वामपन्थी तथा लोकतान्त्रिक दलका घरमा आक्रमण भएको दाबी गर्दै उनले देशलाई अस्थिर बनाउने शक्तिको इसारामा चल्ने गतिविधि देखिएको आरोप लगाए। २३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको उनले बताए।