रुपन्देही २ का कांग्रेस उम्मेदवार पौडेलको प्रतिवद्धता : दोहोरो कर प्रणाली हटाउने, पाउने सुबिधाबाट निर्वाचन क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा खर्चिने

1.5k
Shares

बुटवल ।

फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको लागि सोमवार देखि निर्वाचन आयोगले प्रचार प्रसारलाई खुल्ला गरेसंगै जिल्लामा चुनावी माहोल शुरु भएको छ । चुनावी माहोलसंगै विभिन्न दलका उम्मेदवारले आफ्ना चुनावीप्रतिबद्धता सार्वजनिक गर्न शुरु गरेका छन ।रुपन्देही निर्वाचन क्षेत्र नं. २ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार उद्योगी चुन्न प्रसाद पौडेलले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन्।

आम निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर २२ बुँदे निकैलोक प्रिय प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले आफ्नो घोषणा पत्र केवल कागजी प्रतिबद्धता नभई व्यवहारमा उतार्ने कार्ययोजना भएको बताए। उनले लोकतान्त्रिक मूल्य, आदर्श र जनताको सुखद जीवन सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै विगतका कमी कमजोरीप्रति आत्मसमिक्षा गरेका छन्।

कार्यक्रममा नेपाली कांग्रेसकी समानुपातिक उम्मेदवार रिता सेन ओली, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयबासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पौडेलले सरकारी विद्यालयको स्तरोन्नति गरी कक्षा १२ सम्म अंग्रेजी र नेपाली माध्यमबाट निःशुल्क शिक्षा उपलब्ध गराउने वातावरण बनाउने प्रतिबद्धता जनाए। ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने तथा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँच लाख रुपैयाँसम्मको उपचार सरकारी, संस्थागत र निजी अस्पतालमा उपलब्ध गराउने योजना उनले सार्वजनिक गरे।

क्षेत्र नं. २ का सरकारी अस्पतालहरूको स्तर वृद्धि गरिने र कुनै पनि नागरिक उपचारको अभावमा ज्यान गुम्न नपरोस् भन्ने सुनिश्चित गर्ने उनको भनाइ थियो।

अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान गर्दै दुई वर्षभित्र क्षेत्रका भूमिहीन नागरिकलाई जग्गा व्यवस्थापन गरिने उनले बताए। बस्ती बीचबाट गुज्रिएको हाईटेन्सन लाइन हटाउन पहल गरिने, शुद्ध खानेपानीको व्यवस्था मिलाइने र पूर्व–पश्चिम राजमार्ग विस्तारका कारण उत्पन्न डुबान समस्या समाधान गरिने योजना पनि घोषणा पत्रमा समेटिएको छ।

कृषिलाई उत्पादनमुखी बनाउँदै किसानलाई मल–बिउ सहज उपलब्ध गराउन पहल गर्ने, तिलोत्तमा र सैनामैना क्षेत्रमा सिंचाइ सुविधा विस्तार गरी उत्पादन वृद्धि गर्ने योजना उनले अघि सारे।

बेरोजगार युवा–युवतीलाई लक्षित गरी उद्योग स्थापना गर्ने, ‘एक घर एक रोजगार’ अवधारणा लागू गर्ने तथा युवालाई डिजिटल प्रविधिमा दक्ष बनाउने कार्यक्रम पनि सार्वजनिक गरियो। प्रत्येक चोक–चोकमा डिजिटल फ्री वाइफाइ र सिसी क्यामेरा जडान गरिने तथा आवश्यक स्थानमा चार्जिङ स्टेशन स्थापना गरिने प्रतिबद्धता उनले व्यक्त गरे।

तिनाउ र दानव नदी किनारलाई व्यवस्थित गर्दै हराभरा, स्वच्छ र सुन्दर करिडोर निर्माण गरिने तथा बुटवलबाट बगेर आउने फोहोर नियन्त्रणका लागि योगिकुटी पुल क्षेत्रमा हाइड्रोलिक जाली राखिने प्रतिबद्धता पनि उनले जनाए।

नेपालबाट पेन्सनमा निस्किएका राष्ट्रसेवक कर्मचारी र उनका परिवारलाई वृद्धभत्ता उपलब्ध गराउन पहल गर्ने, उद्योग–व्यवसायमा लगानी वृद्धि र दोहोरो कर प्रणाली हटाउन कानुनी प्रवन्ध सुदृढ गर्ने उनले बताए।

निर्वाचित भएमा प्रतिनिधि सभा सदस्यका रूपमा प्राप्त हुने सेवा–सुविधाको सम्पूर्ण रकम क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा पनि उनले गरेका छन्।

रुपन्देही क्षेत्र नं –२ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप,’ नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल ,र रास्वपाका उम्मेदवार सुलभ खरेल लगायतका विभिन्न पार्टीका उम्मेदवारले घरदैलो गदै मतमागी रहेका छन ।