घरजग्गा कारोबार स्थिर, चालु आवमा २७ अर्ब राजस्व


काठमाडौं।

माघ महिनामा घरजग्गा कारोबार तुलनात्मक रूपमा स्थिर देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघमा देशभर ५० हजार ८ सय ३७ वटा घरजग्गा कारोबार भएका छन् । यो संख्या पुस महिनाको तुलनामा करिब एक हजारले कम हो । पुसमा ५१ हजार ८ सय र मंसिरमा ५१ हजार ६ सय कारोबार भएका थिए, जसलाई चालु आर्थिक वर्षकै उच्च कारोबारमध्ये एक मानिएको छ ।

कारोबारमा सामान्य गिरावटसँगै माघमा राजस्व संकलन पनि केही घटेको छ। पुसमा ५ अर्ब १७ करोड राजस्व उठेकामा माघमा करिब ५ अर्बमा सीमित भएको विभागको तथ्यांक छ । घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, डोर सुविधा शुल्क र पुँजीगत लाभकरलगायत शीर्षकमा राजस्व संकलन हुँदै आएको छ। यसमध्ये पुँजीगत लाभकर संघ सरकारले पाउने गर्छ भने बाँकी रकम प्रदेश र स्थानीय तहमा बाँडफाँट हुन्छ।

साउनदेखि माघसम्मको सात महिनामा भने घरजग्गा कारोबारबाट सरकारले कुल २६ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ राजस्व उठाएको छ। यो पछिल्ला तीन आर्थिक वर्षको सोही अवधिको तुलनामा सबैभन्दा बढी हो । अघिल्ला वर्षहरूमा सात महिनामा २०७९÷८० मा २१ अर्ब ९४ करोड, २०८०÷८१ मा २१ अर्ब ६५ करोड र २०८१÷८२ मा २४ अर्ब ७१ करोड राजस्व संकलन भएको थियो ।

चालु वर्षमा सबैभन्दा बढी राजस्व पुसमा संकलन भएको छ भने सबैभन्दा कम कात्तिकमा २ अर्ब ७५ करोड ५१ लाख उठेको थियो । असोजमा २ अर्ब ७५ करोड ८५ लाख, भदौमा ३ अर्ब १४ करोड ७ लाख, साउनमा ३ अर्ब २८ करोड, मंसिरमा ४ अर्ब ८४ करोड ८१ लाख र माघमा ५ अर्ब ९९ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

कारोबार संख्यामा भने साउन र भदौमा उच्च देखिएको थियो । साउनमा १ लाख ४ हजार २ सय १८ र भदौमा १ लाख २ हजार ९ सय ७१ पटक घरजग्गा किनबेच भएको थियो । तर भदौ २३ को जेन–जी आन्दोलनपछिको अस्थिरताले कारोबार प्रभावित भएको थियो। त्यसक्रममा भूमिसुधार तथा मालपोत कार्यालयहरूमा क्षति पुगेपछि असोज र कात्तिकमा कारोबार घटेको देखिन्छ। असोजमा ७९ हजार ७ सय ३६ र कात्तिकमा ९३ हजार ६ सय ६९ कारोबार भएका थिए । यद्यपि, मंसिरदेखि बजारमा सुधार देखिएको छ। मंसिरमा १ लाख ५८ हजार ८ सय ९९, पुसमा १ लाख ६२ हजार ८ सय ७७ र माघमा १ लाख ५३ हजार ९ सय २० पटक घरजग्गा कारोबार भएको तथ्यांक छ।

कित्ताकाट खुल्नु बजार चलायमान हुनुको मुख्य कारण मानिएको छ। पालिकाहरूले समयमै जग्गा वर्गीकरण नगर्दा साउनदेखि कात्तिक तेस्रो सातासम्म कित्ताकाट रोकिएको थियो। सरकारले २४ कात्तिकमा भू–उपयोग नियमावली, २०७९ तेस्रो पटक संशोधन गरेपछि कित्ताकाट पुनः खुला गरिएको थियो। त्यसपछि मंसिरमा १ लाख १२ हजार ६ सय १८, पुसमा १ लाख ३३ हजार ५ सय ६८ र माघमा १ लाख २० हजार ४ सय २६ पटक कित्ताकाट भएको छ।