बेनी–जोमसोम–कोरला सडकमा पहिरो रोकथाम योजना सुरु


म्याग्दी ।

चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथामका लागि योजना निर्माण थालिएको छ। बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले रु २५ करोडको लागतमा योजना सञ्चालन गरेको हो।

सडकमा नियमित यातायातमा समस्या हुने भएकाले योजना कार्यालयले चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको छ। रघुगङ्गा गाउँपालिका–२ का तल्लो र माथिल्लो बैसरी, नागढुङ्गा, गुइठेभिर, खामभित्ता, लाटोखोला, रूपसे, सेतोखोला र लार्जुङ खण्डमा ‘रक एङ्करिङ’, ‘पलम पर्खाल’, ‘बायो इञ्जिनियरिङ’ र ‘थिडिमेस’ प्रविधि प्रयोग गरेर पहिरो रोकथामको काम भइरहेको छ।

अन्नपूर्ण–३ का खामभित्ता र गुइठेभिरमा क्रमशः रु सात र रु नौ करोडको ठेक्का सम्झौता भइसकेको छ। लाटोखोला, रूपसे, नागढुङ्गा, सेतोखोलामा रु सात करोडमा गजेन्द्र निर्माण सेवा कार्यरत छ। रूपसेमा १६० मिटर सडक ढलान भइसकेको छ भने लाटोखोलामा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो बनाउने काम अन्तिम चरणमा छ।

तल्लो र माथिल्लो बैसरीमा सडक मुनीको पहाडमा पक्की पर्खाल बनाएर सडकको चौडाई सात–आठ मिटर पुर्याइएको छ। नाली, खोल्सा र सडक पानी व्यवस्थापनका लागि ह्युम पाइप संरचना पनि निर्माण भइरहेको छ।

अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पहिरो रोकथामपछि सडकमा सवारीसाधन आवतजावत सहज हुने र जोखिममा रहेका बस्ती तथा सार्वजनिक संरचनाको संरक्षण हुने बताए।