
काभ्रे । बिरामी सेवाग्राहीको अत्यधिक चाप तथा विभिन्न पेसा व्यवसायमा व्यस्त नागरिकहरुलाई सेवा लिन असहज भएकाले हरेक व्यक्तिका लागि सहज सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेल अस्पतालले सार्वजनिक बिदा तथा अन्य दिनमा पनि ओपीडी सेवा थप गरी सेवा विस्तार गरेको छ ।
अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालको विस्तारित सेवाका बारेमा जानकारी दिँदै प्रशासन प्रमुख डा. बलराम मल्लले सेवाग्राहीहरुको सहजताका लागि सेवा विस्तार गरिएको बताए । डा. बलराम मल्लले भने– ‘हरेक दिन अस्पतालको ओपीडी सेवा उही शुल्कमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । सार्वजनिक बिदा तथा शनिबारका दिन भने बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म ओपीडी सेवा सञ्चालन हुनेछ । थप समय र अतिरिक्त दिनको बिरामीले थप शुल्क बुझाउनुपर्ने छैन ।
तर सार्वजनिक बिदाका दिन स्वास्थ्य बिमाअन्तर्गतका सेवाहरु भने उपलब्ध हुनेछैन ।अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारका अनुसार बिहानी एवं दिउँसोको समयमा कामकाजमा व्यस्त रहने सेवाग्राही एवं उक्त समयमा कार्य व्यस्तताका कारण अस्पतालमा आई स्वास्थ्य सेवा लिन नसकेका सेवाग्राहीहरुका लागि विस्तारित सेवा महत्वपूर्ण हुनेछ ।
अस्पतालले दैनिक जीविकोपार्जन र आफ्नो स्वास्थ्यबीच छनौट गर्न नपरोस् भन्ने उद्देश्यका साथ ओपीडी सेवाहरु साँझसम्म विस्तार गरेको र शनिबारका दिन पनि ओपीडी सेवा सञ्चालन गरेर समुदायमा रहेका सेवाग्राहीहरुको समसामयिक आधारभूत आवश्यकताहरु पूरा गर्न अस्पताल निरन्तर सक्रिय रहेको डा. मल्लले बताए ।
कार्यक्रममा अस्पतालका संस्थापक डा. रामकण्ठ माकजुले सम्भावना र अवसरका विषयमा धुलिखेल अस्पतालबाट राष्ट्रले सिक्नुपर्ने बताए । ‘धुलिखेल अस्पतालले ३० वर्षअघि आफ्नै कर्मचारीबाट शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम नेपाल सरकारले ढिलो गरी भए पनि शुरु ग¥यो’, डा. माकजुले भने–‘नेपाल सरकारले व्यवस्थापनमा कठिनाइ झेलिरहेको भए पनि धुलिखेल अस्पताल नमुना र उदाहरण बनेर सहयोग गर्न तत्पर छ ।’
अस्पतालले पहिलो चरणमा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुको बिमा गरेको थियो । जसका कारण परिवारका सदस्यहरुको उपचारमा सहज भएको थियो । दोस्रो चरणमा काठमाडौं विश्वविद्यालयका कर्मचारी तथा विद्यार्थीहरुको समेत बिमा गरी स्वास्थ्य उपचारमा सहजता गरेको थियो । धुलिखेलले निःस्वार्थ उद्देश्यका साथ निरन्तर सक्रिय हुँदा जस्तोसुकै चुनौती पनि सहजताका साथ सामना गर्न सकिने उदाहरण देखाएको डा. रामकण्ठले बताए । नेपालकै नमुना अस्पताल धुलिखेलले बिरामीलाई बिहानको ब्रेकफास्ट, खाना, दिउँसोको खाजा र साँझको खाना निःशुल्क उपलब्ध गराउँछ ।
भुक्तानी पाउन ३६ करोड बाँकी :
स्वास्थ्य बिमा कार्यक्रमले नागरिकहरुलाई राहत दिए पनि अस्पतालहरुलाई भने सरकारले समयमै भुक्तानी नदिँदा सेवा सञ्चालनमा असहजता हुन थालेको छ । धुलिखेल अस्पतालमा बिरामीहरुलाई उपचार गराएबापत नेपाल सरकारले स्वास्थ्य बिमा तथा विपन्न नागरिक उपचारबापतको पौष मसान्तसम्म ३६ करोड रकम भुक्तानी गर्न बाँकी रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ ।
‘धुलिखेल अस्पतालमा दैनिक १५ लाखको स्वास्थ्य बिमाबापतको उपचार गरेको बिल स्वास्थ्य बिमाको सिस्टममा भुक्तानीका लागि माग हुने गरेको छ भने विपन्न नागरिकको मासिक ५० लाख रुपियाँको भुक्तानी माग हुन्छ’, प्रशासनका डा. बलराम मल्लले भने– ‘हामीले दैनिक अपडेट गरेको रिभ्यु गर्ने स्वास्थ्य बिमा बोर्डको समय ३ देखि ६ महिना लाग्ने गरेको छ ।’ समयमा रिभ्यु नभएकै कारण धुलिखेल अस्पतालले वैशाखदेखि भुक्तानी पाउन सकेको छैन ।
१० महिनाको भुक्तानी पाउनुपर्ने रकम ३६ करोड पुगेको डा. मल्लले बताए । सेवा सुचारु गर्न तथा नागरिकहरुलाई सरकारको सेवाबाट वञ्चित नगराउने उद्देश्यले जस्तोसुकै कठिन परिस्थितिमा पनि धुलिखेल अस्पतालले सेवालाई सुचारु गरी सरकारसँग भुक्तानीका लागि अनुरोध गरिरहेको उनले बताए । ‘स्वास्थ्य बिमा बोर्डले दुई साताको समयावधि दिएको छ’, डा. बलराम मल्लले भने– ‘अस्पतालमा थप समस्या आउन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं ।’
नेपाल सरकारले पछिल्लो समय प्रथम सेवा विन्दुबाट धुलिखेल अस्पताललाई हटाएको छ । तर पनि रिफरल लिएर आउने बिरामीहरुको उपचार सेवाबापतको भुक्तानी पनि समयमा नगरेका कारण अस्पताल प्रशासनले व्यवस्थापनका लागि समस्या झेलिरहेको छ ।











प्रतिक्रिया