रौतहटका दुई पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

6.02k
Shares

रौतहट ।

 लामो समयदेखि रौतहटका दुई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक कामकाज प्रभावित बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ महिनामै वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमलाल भुजेलको सरुवा गरे पनि हालसम्म उनको स्थानमा नयाँ प्रमुख प्रशासकीय हाजिर भएका छैनन्  । भुजेलको सरुवा भएपछि उनको स्थानमा लाहान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको सरुवा भएपनि उनी हाजिर नहुँदा  नगरपालिकाको आर्थिक, प्रशासनिक काम तथा विकास निर्माणको सबै काम ठप्प भएको छ ।

 त्यस्तै, गुजरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शान्ता विश्वकर्मालाई पौष २८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, बागमती प्रदेशमा सरुवा गरिएको थियो । तर उनको स्थानमा पनि अहिलेसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएकाले सेवाप्रवाहदेखि विकास निर्माणसम्मका कामहरू प्रभावित भएको स्थानीयवासीको गुनासो छ । प्रमुख प्रशासकीय अधिकृतको अभावले योजना कार्यान्वयन, आर्थिक कारोबार, कर्मचारी व्यवस्थापन लगायतका महत्वपूर्ण काम ठप्पजस्तै भएको भन्दै सरोकारवालाहरूले प्रमुख प्रशासकीय अधिकृत खटाइदिन माग गरेपनि बेवास्ता भएको छ । 

छ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा वृन्दावन नगरपालिकाका कर्मचारीले तलब समेत पाएका छैनन भने नगरपालिकाले तर्जुमा गरेको चालु आर्थिक वर्षको योजना सञ्चालन हुन सकेको छैन । सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा उपभोक्ता लाई समस्या भएको छ । ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिकाले सामाजिक सुरक्षा भत्ता र बालपोषणको रकम पाउन बाट उनीहरु वञ्चित भएका छन्  । प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेपनि तत्कालै उनको स्थानका अर्को प्रमुख प्रशसकिय अधिकृत पठाउनु पर्ने हो त्यसो नगर्दा पालिकाको सम्पादन हुने कार्य प्रभावित भएको गुजरा नगरपालिकाका प्रमुख  सन्तलाल चौधरीले बताए ।