दुई दशक नजिक २० ओभरको विश्वकप क्रिकेट

एउटा प्रयोगदेखि विश्वव्यापी क्रान्ति

1.32k
Shares

सन् २००७ को त्यो सुनौलो साँझ, दक्षिण अफ्रिकाको जोहानेसबर्ग मैदान र क्रिकेटको परम्परागत इतिहासलाई एउटा छक्काले चुनौती दिँदै सुरु भएको त्यो नयाँ युगलाई आज हामी आईसीसी पुरुष टी–२० विश्वकपको नामले चिन्छौं । जब वेस्ट इन्डिजका ‘युनिभर्स बोस’ क्रिस गेलले प्रतियोगिताको पहिलो बलमै बाउण्ड्री पार लगाए, तब विश्वले महसुस ग¥यो कि अब क्रिकेट पहिलेको जस्तो रहेन । यो केवल खेलको छोटो स्वरूप मात्र थिएन, यो त एउटा क्रान्ति थियो र असम्भवलाई सम्भव बनाउने एउटा मञ्च थियो । यो ती करोडौं मुटुको धड्कन हो, जो हरेक २० ओभरमा रोकिने र बल्झिने गर्छन् ।

त्यो पहिलो संस्करण, जहाँ युवराज सिंहले स्टुअर्ट ब्रोडका छ बलमा छवटा छक्का प्रहार गरेर आकाशतिर हेर्दै गर्दा क्रिकेट प्रेमीहरूको रगतमा एउटा नयाँ तरंग पैदा भएको थियो । अनि त्यो फाइनल, जहाँ महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको युवा र निडर भारतीय टोलीले पाकिस्तानलाई अन्तिम क्षणमा स्तब्ध पार्दा समय नै थामिएझैं महसुस भएको थियो । त्यो जित केवल ट्रफीको प्राप्ति मात्र थिएन, त्यो त क्रिकेटको नयाँ परिभाषाको जन्म थियो ।

सुरुवातमा यसलाई केवल मनोरञ्जनका लागि खेलिने एउटा ‘प्रयोग’ भन्दै आलोचना गर्नेहरूका लागि सन् २००९ को विश्वकपले कडा जवाफ दियो । पाकिस्तानले हारको बदला लिँदै शाहिद अफ्रिदीको विष्फोटक ब्याटिङको मद्दतले ट्रफी उचाल्दा टी–२० को पागलपनले सीमा नाघिसकेको थियो । नेदरल्याण्ड्सले क्रिकेटको जन्मदाता इङ्गल्याण्डलाई स्तब्ध पार्दा प्रमाणित भयो कि यो ढाँचामा कुनै पनि टोली सानो हुँदैन । इङ्गल्याण्डले पनि छिट्टै आफूलाई सुधार्दै २०१० मा क्यारिबियन टापुमा केभिन पिटरसनको जादुमयी ब्याटिङको मद्दतले पहिलो पटक सेतो बलको विश्वकप उचाल्यो ।

परिवर्तित समयसँगै टी–२० क्रिकेट एउटा ‘गिमिक’ बाट बदलिएर विश्वव्यापी नशामा परिणत भयो, जहाँ तीन घण्टाभित्रै एउटा महाकाव्य लेखिएर टुङ्गिन्छ । सन् २०१२ र २०१६ मा उपाधि जितेर क्रिकेटको यो उत्सवलाई क्यारिबियन टोली वेस्ट इण्डिजले एउटा भव्य कार्निभलमा बदलिदियो । सन् २०१२ मा सुनिल नरेन र मार्लोन सामुएल्सले श्रीलंकालाई निराश तुल्याए भने सन् २०१६ को त्यो रात कोलकताको इडन गार्डेन्समा कार्लोस ब्रेथवेटले बेन स्टोक्सलाई लगातार चार छक्का प्रहार गरेर सनसनी मच्चाइदिए । कमेन्टेटर इयान बिशपले चिच्याउँदै भनेको “रिमेम्बर द नेम” अर्थात् नाम याद राख्नुहोला भन्ने वाक्य शायद आज पनि कतिपय क्रिकेट प्रेमीहरूको कानमा गुञ्जिरहेकै होला ।

त्यसैबीचको साल सन् २०१४ मा श्रीलंकाको आफ्नै एउटा भावनात्मक कथा लेखिएको थियो । कुमार सांगाकारा र महेला जयवद्र्धने जस्ता दिग्गजहरूले वर्षौंदेखि पछ्याइरहेको त्यो सुनौलो ट्रफी अन्ततः उचालेर टी–२० क्रिकेटबाट भावुक बिदाइ लिए । ती आँशु र त्यो मुस्कानले के प्रमाणित ग¥यो भने यो खेल केवल प्रहारको खेल मात्रै होइन, यो त सपना र समर्पणको संगम हो । केही समयको अन्तरालपछि सन् २०२१ मा अष्ट्रेलियाले संयुक्त अरब इमिरेट्सको कठिन पिचमा डेभिड वार्नर र मिचेल मार्सको सशक्त प्रदर्शनमार्फत सेतो बलको क्याबिनेटमा छुटेको एक मात्र ट्रफी थप्यो । तर, टी–२० को कथा यतिमा मात्र सीमित रहेन ।

सन् २०२२ मा इङ्गल्याण्डले साम करनको सर्वोत्कृष्ट प्रदर्शनको आडमा दोस्रो पटक उपाधि जित्दै आफूलाई यो प्रारूपको राजा सावित ग¥यो । तर, क्रिकेटको यो क्रान्तिकारी रूपले आफ्नो सबैभन्दा विशाल स्वरूप सन् २०२४ मा देखायो । अमेरिका र वेस्ट इन्डिजमा आयोजित २० टोली सम्मिलित उक्त विश्वकपले क्रिकेटलाई साँच्चै विश्वव्यापी बनायो । आयोजक अमेरिकाले पाकिस्तानलाई ‘सुपर ओभर’ मा पराजित गर्दा विश्व खेलजगत्मा भूकम्प गए झैं भयो ।
अफगानिस्तानले आफ्नो संघर्षको इतिहासलाई एउटा नयाँ उँचाइ दिँदै पहिलो पटक सेमिफाइनलसम्मको यात्रा तय गर्दा लामो समयको युद्धको चोटबाट तंग्रिन्दै गरेको पूरै देश खुसीले झुमेको थियो ।

बार्बाडोसको त्यो ऐतिहासिक मैदान, जहाँ १७ वर्षको प्रतीक्षा र कैयौं पीडादायी हारपछि भारतले फेरि एकपटक विश्वविजेताको ताज पहिरियो । पूरै प्रतियोगिताभर शान्त रहेका विराट कोहलीले फाइनलको त्यो ठूलो मञ्चमा ७६ रनको ऐतिहासिक पारी खेलेर आफ्नो महानता प्रमाणित गरे । रोहित शर्माको संयमित कप्तानी र जसप्रित बुमराहको घातक बलिङले दक्षिण अफ्रिकाको मुखैमा पुगेको जित खोसेर ल्यायो । खेल सकिएपछि जब विराट र रोहितले एकअर्कालाई अँगालो हालेर रोए, त्यो दृश्यले विश्वभरका करोडौं प्रशंसकको आँखा रसायो । त्यो जितसँगै ती दुई महान् खेलाडीले अन्तर्राष्ट्रिय टी–२० बाट बिदाइको घोषणा गर्दा एउटा गौरवशाली अध्यायको अन्त्य भयो ।

आज झण्डै दुई दशकपछि फर्केर हेर्दा, सन् २००७ मा सुरु भएको त्यो सानो झिल्को अहिले एउटा ज्वालामुखी बनिसकेको छ । ६ फरक च्याम्पियन, अनगिन्ती कीर्तिमान र हरेक बलमा फेरिने भाग्य, टी–२० विश्वकपले क्रिकेटलाई बाँच्ने एउटा नयाँ शैली दिएको छ । अब नजर २०२६ तिर छ, जहाँ भारत र श्रीलंकाको संयुक्त आयोजनामा फेरि एकपटक २० टोलीहरू भिड्नेछन् र इटाली जस्ता नयाँ राष्ट्रहरूले आफ्नो इतिहास लेख्न सुरु गर्नेछन् । यो प्रतियोगिता केवल एक खेल मात्रै होइन, यो त रोमान्च, कौतुहलता र प्रेरणाको एउटा यस्तो जीवित मञ्च हो, जहाँ एउटै ओभरले इतिहास बदल्न सक्छ । जहाँ कुनै पनि साधारण व्यक्ति एकै रातमा असाधारण नायक बन्न सक्छ । किनकि यहाँ हरेक नयाँ बलसँगै एउटा नयाँ सपनाको जन्म हुन्छ ।

यसपटक युरोपबाट इटाली जस्तो फुटबलको गढ मानिने देशले क्रिकेटको विश्वमञ्चमा डेब्यु गर्दैछ । इटाली मात्र होइन, पछिल्लो समय अमेरिका, ओमान र युगान्डा जस्ता देशहरूको उदयले अब क्रिकेट केही सीमित देशहरूको मात्र खेल रहेन भनेर प्रमाणित गरिसकेको छ । भारतका खचाखच भरिने रङ्गशाला र श्रीलंकाको सुमधुर क्रिकेट माहोलले यसलाई थप भावनात्मक र ऊर्जावान् बनाउनेछ ।

नेपालका लागि भने यो विश्वकप आफ्नो छिमेकी राष्ट्रमा हुने भएकाले ठूलो अवसर र चुनौती दुवै हुनेछ । लाखौं नेपाली प्रशंसकहरू आफ्नो टोलीलाई भारतका मैदानमा देख्न आतुर छन् । नेपाल र अन्य उदीयमान राष्ट्रहरूका लागि यो अग्निपरीक्षा जस्तै रहनेछ । नेपाली टोलीका लागि यो केवल खेल मात्र होइन, भारतका ठूला रंगशालामा आफ्ना हजारौं समर्थक माझ खेल्ने कालजयी क्षण बन्नेछ । छिमेकी राष्ट्रमा आयोजना हुने भएकाले नेपाल यस विश्वकपमा भारतपछिको दोस्रो सबैभन्दा ठूलो ‘क्राउड पुलर’ अर्थात दर्शक तान्ने टोलीमध्ये एक भएको टिकट बिक्री तथ्यांकले प्रमाणित भइसकेको छ ।