काठमाडौँ।
निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । उम्मेदवारविरुद्ध परेका उजुरी, योग्यता नपुगेको अवस्था र राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा नाम हटाइएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जनासहित विभिन्न कारणले ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको हो । हटाइएकामध्ये प्रदेशसभा बन्दसूचीमा नाम कायम भएका २५ जना छन् भने आयोगको जरिवाना भुक्तान नगरेका १० जनाको नाम पनि हटाइएको छ।
यस्तै, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको कोटामा पुरुष उम्मेदवार पेश गरिएको १, राजनीतिक दलको अनुरोधमा हटाइएका १० तथा अन्य कारणबाट २ जनाको नाम सूचीबाट हटाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
यससम्बन्धी विस्तृत विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको पनि आयोगले जनाएको छ ।











प्रतिक्रिया