कांग्रेस नर्सरीमा हुर्किएकाे माटाेले चिनेको उम्मेदवार हुँ : थापा


काठमाडौं ।

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा आफूलाई ‘माटोसँग जोडिएको प्रतिनिधि’का रूपमा प्रस्तुत गरेका छन् । राष्ट्रिय राजनीतिमा अपेक्षाकृत नयाँ अनुहार भए पनि स्थानीय जनजीवनसँगको निकटता, पार्टी संगठनमा लामो सक्रियता र समुदायमा निरन्तर उपस्थिति आफ्नो पहिचान भएको उनको भनाइ छ । डेढ दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका थापा नेविसंघ र तरुण दल हुँदै पार्टीको विभिन्न तहमा काम गरेका नेता हुन् ।

उनले नेविसंघको क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, तरुण दल केन्द्रीय सदस्य, नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस केन्द्रीय समिति तरुण विभाग सदस्य, महासमिति सदस्य महाधिवेशन प्रतिनिधिलगायत भूमिकामा काम गरिसकेको बताए । उनले पार्टीको तल्लो कमिटी र विद्यार्थी संगठनदेखि नै सक्रिय रहेकाले आफू नेपाली कांग्रेसको नर्सरीमा हुर्किएको र माटोलाई बुझेको उम्मेदवार रहेको बताए ।

अष्ट्रेलियाबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका थापा हाल पारिवारिक हस्पिटालिटी व्यवसाय, सामाजिक काम र राजनीतिमा समानान्तर रूपमा सक्रिय छन् । उनले आफू ‘भाइरल राजनीति’भन्दा ‘ग्राउन्ड राजनीति’मा विश्वास गर्ने बताउँछन् । ‘म पढ्ने होइन, भोग्ने प्रतिनिधि हुँ’ सञ्चारकर्मीहरुसँगको कुराकानीमा थापाले भनेका छन्, ‘म काठमाडौं–१ को माटोसँग जोडिएको व्यक्ति हुँ । यही जन्मे–हुर्के, यही व्यवसाय र राजनीति गरें । अरू उम्मेदवारले यो क्षेत्र पढ्नु होला, बुझ्ने प्रयास गर्नुहोला । तर मैले यो क्षेत्रलाई दिनहुँ भोगेको पात्र हँु ।’ उनले निर्वाचनको परिणाम जस्तो आए पनि स्थानीय समस्या र आवाज निरन्तर उठाइरहने प्रतिबद्धता व्यक्त गर्दै भन्छन् । मेरो सूर्योदयदेखि सूर्यास्त नै यो क्षेत्रमा हुन्छ ।

मलाई यो या त्यो बहानामा जनताका मुद्दाबाट पन्छिने छुट छैन । हिजोका निर्वाचनका हरेक उम्मेदवारले थोरै धेरै मत पाउनुभयो । आज उहाँहरु कहाँ हुनुहुन्छ कसैलाई थाहा छैन । भोलि फेरि त्यस्तो नहोस् भन्ने जनताको भावना रहेको पाएको छु । उनले आफ्नो उम्मेदवारीलाई जेने–जी आन्दोलनको भावना र कार्यकर्ताको अपेक्षासँग जोड्दै रूपान्तरित कांग्रेसमार्फत् रूपान्तरित देश निर्माणको पक्षमा उभिएको बताएका छन् । काठमाडौं–१ मा करिब दुई हजार क्रियाशील सदस्य रहेको उल्लेख गर्दै उनले पार्टीभित्र नेतृत्वका लागि धेरै सक्षम कार्यकर्ता रहेको भन्दै उनले भने–‘यसपटक पार्टीले आफूलाई विश्वास गरेको हुँदा मैले पार्टीलाई निराश पार्ने काम गर्ने छैन ।

साथै आफ्नो उम्मेदवारीले नेतृत्वदेखि कार्यकर्तासम्म उत्साह थपेको छ ।’ थापाले यसअघि काठमाडौं–१ बाट विजयी हुँदै आएका नेता प्रकाशमान सिंहको निरन्तर मार्गनिर्देशन आफूले पाएको बताए । विगतमा आफूलाई सिंहको ‘सारथी’का रूपमा काम गरेको उल्लेख गर्दै उनले अहिले सिंह आफ्नो मार्गदर्शक रहेको बताए । प्रकाशमान सिंहले सुरु गर्नुभएका कार्यक्रमको निरन्तरता र सम्पन्न गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै उनले नेपाली कांग्रेसबाट तर्फबाट विजयी भएका प्रदेश सभा, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तहमा काम गर्दै आएका व्यक्तित्वसँगै सिंगो संगठन नै पार्टी निर्माण र चुनावी अभियानमा सक्रिय भएको थापाको भनाइ छ ।

राजनीतिक एजेन्डा थापाले राष्ट्रिय तहमा लोकतन्त्र, सुशासन र राजनीति सुधार पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्दै संसदमा सुनिने र बोलिने सांसद बन्ने प्रतिबद्धता गरेका छन् संघीय सांसदको भूमिका नीति निर्माणसमेत रहने हुँदा आफूले उद्यमशीलता र स्थायित्व कायम गर्ने सन्दर्भमा नेतृत्वदायी भूमिका निर्माण गर्ने थापाको भनाइ छ । निर्वाचन केन्द्रित प्राथमिकता काठमाडौं क्षेत्र नं. १ सिंगो देशको दर्पण हो ।

यस ७७ जिल्लाका मानिस र देश विदेशका आँखा पर्ने भएकाले यहाँको विकास र गतिविधिसँग राष्ट्रिय परिचयसमेत जोडिने हुँदा तीनै तहका सरकारसँगको सहकार्य र समन्वयमा विकास योजना लागू गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । काठमाडौं–१ लाई राष्ट्रिय नमुना विकास मोडल बनाउने लक्ष्य राखेका थापाले अन्तर्राष्ट्रिय विमानस्थल र पूर्वी नेपालको प्रवेशद्वार भएकाले यस क्षेत्रको रणनीतिक महत्वलाई ध्यानमा राखेर विशेष योजना ल्याउने बताएका छन् ।

उम्मेदवार थापाले आफ्नो क्षेत्रमा वैज्ञानिक ट्राफिक व्यवस्थापन र पार्किङ प्रणालीलाई क्षेत्र केन्द्रित एजेन्डामा समेट्दै व्यावसायिक सुरक्षा र सुरक्षित आवास क्षेत्र, स्थानीय उद्यमशीलता प्रवद्र्धन (स्टार्टअप, साना व्यवसाय) भित्री बस्तीमा सडक, पैदल मार्ग र सार्वजनिक यातायातको कनेक्टिभिटी, शहरको सौन्दर्यकरण, हरियाली र सम्पदा संरक्षण तथा सुकुम्बासी समस्याको वैज्ञानिक र न्यायोचित समाधानलाई अगाडि सारेका छन् ।

त्यस्तै अर्थतन्त्र जोगाउन व्यवसायमैत्री वातावरण, व्यवस्थित शैक्षिक हब निर्माण, स्वच्छ खानेपानी, फोहोर व्यवस्थापन र ढल निकासका कार्यक्रमलाई उनले जोड दिएका छन् । शहरी गरिबी न्यूनीकरणका लागि विशेष कार्यक्रम, सीप विकास, स्वरोजगार प्रवद्र्धन तथा सेवा, पर्यटन र हस्पिटालिटी क्षेत्रको विकासलाई उनले प्राथमिकता दिएका छन् ।

मुख्य राजनीतिक एजेन्डाहरू

– लोकतन्त्र, सुशासन र राजनीति सुधार – लोकतन्त्रको रक्षा, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन – संसदमा सुनिने र बोलिने सांसद बन्ने प्रतिबद्धता – नीति निर्माणमा सक्रिय र रचनात्मक भूमिका – पार्टीभित्र एकता, संस्थागत अनुशासन र सामूहिक नेतृत्वमा जोड काठमाडौं क्षेत्र नं. १ केन्द्रित एजेन्डा – ट्राफिक व्यवस्थापनमा सुधार र वैज्ञानिक पार्किङ प्रणाली लागू । – व्यावसायिक सुरक्षाको वातावरण निर्माण, शान्त र सुरक्षित आवास क्षेत्र । – स्थानीयमा उद्यमशीलता प्रवद्र्धन (स्टार्ट अप, साना व्यवसाय, सेवा क्षेत्र) – भित्री बसोबास स्थलहरूबीच कनेक्टिभिटी (सडक, पैदल मार्ग, सार्वजनिक यातायात) – शहरको सौन्दर्यकरण, हरियाली प्रवद्र्धन, सम्पदाको संरक्षण, स्वच्छ वातावरणमा विशेष कार्यक्रम ।

– सुकुम्बासी समस्याको वैज्ञानिक र न्यायोचित व्यवस्थापन । – आन्दोलन–केन्द्रित क्षेत्रबाट आक्रान्त यस क्षेत्रको अर्थतन्त्र जोगाउन व्यवसायमैत्री वातावरण निर्माण – व्यवस्थित शैक्षिक हब निर्माण – स्वच्छ खानेपानी, फोहोर व्यवस्थापन, ढल निकास शहरी गरिबी र रोजगारी – शहरी गरिबी न्यूनीकरणका लागि विशेष कार्यक्रम – सीप विकास, स्वरोजगार र स्थानीय रोजगारी सिर्जना – सेवा, पर्यटन र हस्पिटालिटी क्षेत्र प्रवद्र्धन राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचानको प्रतिनिधित्व – काठमाडौं–१ लाई राष्ट्रिय नमुना विकास मोडल बनाउने ।

– अन्तर्राष्ट्रिय विमानस्थल र पूर्वी नेपालको प्रवेशद्वार भएका कारण यस क्षेत्रले राष्ट्रको प्रतिनिधित्व गर्छ । त्यसका निम्ति तीन तहका सरकारसँगको समन्वयमा विशेष योजना कार्यान्वयन गर्ने । प्रतिनिधित्वको दृष्टिकोण – स्थानीय समस्यालाई राष्ट्रिय नीति–निर्माणसँग जोड्ने । – जनजीविकाका मुद्दामा निरन्तर आवाज उठाउने – म बानेश्वर केन्द्रित सांसद मात्र नभई देशव्यापी सरोकारका विषय उठाउने सांसद बन्न चाहान्छु ।