काठमाडौं ।
अध्यागमन विभागले नेपाली राजनीतिक दलका शीर्ष नेताहरूको नाम र फोटो दुरुपयोग गरी अनलाइनमार्फत पैसा उठाइरहेको आरोपमा एक अमेरिकी नागरिकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
विभागका अनुसार ती अमेरिकी नागरिकले वेबसाइटमार्फत देशका ठूला दलका प्रमुख तथा प्रभावशाली नेताहरूको नाम र फोटो प्रयोग गर्दै अन्तर्राष्ट्रिय स्तरमा ‘फण्ड’ उठाइरहेको पाइएको हो । अनुसन्धानमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, आरजु राणा देउवा, महेश बस्नेत, उद्योगपति विनोद चौधरीलगायत १३ जनाको नाम र तस्बिर दुरुपयोग गरिएको खुलेको छ ।
अध्यागमन विभागका अनुसार ती व्यक्तिले ‘आवर डायनामिक टिम’, लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम जस्ता शीर्षक राखी विभिन्न प्रभावशाली व्यक्तिलाई संस्थासँग आबद्ध देखाउँदै वेबसाइटमा प्रस्तुत गरेका थिए । यसै आधारमा दाताबाट आर्थिक सहयोग मागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनले एक कलेजको नाममा छुट्टै वेबसाइट निर्माण गरी कोरियन भाषा, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस स्टडिजलगायतका विषय अध्यापन गराइने दाबीसमेत गरेका थिए । तर, ती दाबीहरू सत्य नभएको आशंका गर्दै सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
हाल पक्राउ परेका अमेरिकी नागरिकमाथि ठगी, पहिचान दुरुपयोग तथा साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने अध्यागमन विभागले जनाएको छ ।











प्रतिक्रिया