दोलखाः चुनावी पारो चढ्दै छ 


दोलखा।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेपछि सुनसान झै बनेको दोलखाको राजनीतिक गतिविधि बिस्तारै तातिन थालेको छ । 

मनोनयन दर्ता लगतै मुख्य राजनीतिक दलका उम्मेदवार र नेताहरु राजधानि केन्द्रीत प्रचार– प्रसारमा सक्रिय भएकाले दोलखामा राजनीतिक गतिविधि सुस्ताएको थियो । अब बिस्तारै दलका नेता र उम्मेदवार जिल्ला फर्कन लागेपछि दोलखाको राजनीतिक गतिविधिको पारो चढ्दै गएको स्थानीय बताउँछन् । 
नेकपा एमाले दोलखाले माघ २३ गतेदेखि कमिटी बैठक, अगुवा कार्यकर्ता भेला र टोल तहसम्मको निर्वाचन परिचालन कमिटी निर्माण गर्ने कार्ययोजना बनाएको अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । आमसभा, घरदैलो, भेला लगायतका गतिविधि भने फागुन ४ गतेपछिबाट मात्र सुरु हुने श्रेष्ठको भनाई छ । 

एमालेले माघ २३ गते भीमेश्वर नगरपालिका, माघ २४ गते शैलुङ गाउँपालिका, माघ २५ गते मेलुङ गाउँपालिका, माघ २६ गते तामाकोशी गाउँपालिका, माघ २९ गते बैतेश्वर गाउँपालिका, फागुन १ गते जिरी नगरपालिका, फागुन २ गते गौरीशङ्कर गाउँपालिका, फागुन ३ गते विगु गाउँपालिका र फागुन ४ गते कालिञ्चोक गाउँपालिकामा उम्मेदवारकै उपस्थितिमा कमिटी बैठक, अगुवा कार्यकर्ता भेला र टोल तहसम्मको निर्वाचन परिचालन कमिटी निर्माण गरिने श्रेष्ठको भनाई छ ।

नेपाली कांग्रेस दोलखाले पनि फागुन ४ गतेपछिमात्र औपचारीक रुपमा चुनावी कार्यक्रम गर्ने जनाएको छ । अहिले काठमाडौँ र दोलाखका विभिन्न ठाउँमा उम्मेदवारसहित भेला, छलफल, बैठक गरिरहेका छौ सभापति बर्मा लामाले भने– फागुन ४ पछि घरदैलो, आमसभा, भेला लगायतका गतिविधि गर्ने छौ । 
नेपाली कम्युनिष्ट पार्टी ले उम्मेदवारको सहभागितामा काठमाडौँ र दोलखाको विभिन्न पालिकामा कमिटी बैठक र मतमाग्ने कामलाई उम्मेदवारी दर्ताकै दिनदेखी निरन्तरता दिईरहेको केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवारसहित अनौपचारीक ढङ्गले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गरिरहेको अध्यक्ष दिनेश वस्नेतले बताए । फागुन ४ गतेपछि भने अभियान थप तिब्रताका साथ अघि बढ्ने वस्नेतको भनाई छ । राप्रपाले पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिईरहेको युवा नेता नवराज खड्काको भनाई छ । 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि दोलखामा १४ वटा राजनीतिक दल र स्वतन्त्र गरी ३३ जनाले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेका अनुसार दोलखामा नेकपा एमालेबाट पार्वत गुरुङ, नेपाली कम्युनिष्ट पार्टीबाट विशाल खड्का, नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेलले उम्मेदवारी दर्ता गराएका छन् ।  

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रविण कुमार थोकर, उज्यालो नेपाल पार्टीबाट निमादोर्जी लामा, प्रगतीशील लोकतान्त्रिक पार्टीबाट कमल खत्री, मंगोल नेशनल अर्गनाईजेसन पार्टीबाट कुमार तमाङ, जनता समाज पार्टीबाट गोपाल नेपाली, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट कुमार लामीछाने, आम जनता पार्टीबाट शुक्र तमाङ, श्रमसंस्कृति पार्टीबाट हेप बहादुर थामी, नेपाल मजदुर किसान पार्टीबाट बिमला श्रेष्ठ र राष्ट्रिय परिवर्तन पार्टीबाट सुदर्शन कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।