भीरकोट नगरपालिकाद्वारा पाठेघरको मुखको क्यान्सर परीक्षण 

846
Shares

स्याङ्जा ।

भीरकोट नगरपालिकाले महिलाहरुको प्रजनन स्वास्थ्य प्रवर्धन तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले प्रजनन स्वास्थ्य तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । नगरपालिकाको आयोजनामा वडा नम्बर ३, ४ र ५ मा उक्त शिविर सञ्चालन गरिएको हो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा महिलाहरुको प्रजनन स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरुको स्क्रिनिङ तथा व्यवस्थापन गरिएको थियो । साथै, महिलाहरुमा देखिन सक्ने गम्भीर स्वास्थ्य समस्यामध्ये एक मानिने पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षणसमेत गरिएको थियो । शिविरमा स्थानीय महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

नगर स्वास्थ्य शाखाका अनुसार शिविर अवधिभर जम्मा २ सय ५० जना महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा ४ जना महिलामा पाठेघर झर्ने समस्या देखिएको छ । यस्तै, ८ जना महिलामा पाठेघरको मुखको क्यान्सरको संकेत देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । शङ्का देखिएका महिलाहरुलाई थप परीक्षण तथा आवश्यक उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रिफर गरिएको छ । नगर स्वास्थ्य शाखा प्रमुख अञ्जु सापकोटाले महिलाहरुले आफ्नो स्वास्थ्यप्रति सचेत भई नियमित स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “महिलाहरुले समयमै स्वास्थ्य जाँच र उपचार गरेमा यस्ता समस्या रोकथाम गर्न सकिन्छ । पाठेघर झर्ने समस्याको समाधान सम्भव छ र पाठेघरको मुखको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लागेमा उपचार गर्न सकिन्छ । त्यसैले हरेक महिलाले नियमित स्क्रिनिङ गराउनु अत्यन्त आवश्यक छ ।”

उहाँका अनुसार धेरैजसो महिलाहरु लाज, डर वा जानकारीको अभावका कारण स्वास्थ्य समस्या लुकाएर बस्ने गरेको पाइन्छ, जसले समस्या झन् जटिल बन्दै जाने गर्दछ । यस्ता शिविरहरुले महिलाहरुलाई निःशुल्क, सहज र सुरक्षित रुपमा स्वास्थ्य परीक्षण गराउने अवसर प्रदान गर्नुका साथै स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । भीरकोट नगरपालिकाले महिलाहरुको प्रजनन स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले नियमित रुपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाका तीनवटा स्वास्थ्य चौकीमा नियमित प्रजनन स्वास्थ्य तथा पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा उपलब्ध रहेको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । दार्सिङ दहथुम स्वास्थ्य चौकी, खिलुङ देउराली स्वास्थ्य चौकी र ढापुक स्वास्थ्य चौकीमा महिलाहरुले नियमित रुपमा उक्त सेवा लिन सक्ने व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

नगरपालिकाले आगामी दिनमा पनि महिलाहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता शिविर तथा सचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ । स्थानीय तहको सक्रियतामा सञ्चालन भएका यस्ता कार्यक्रमहरुले ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाहरुलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।