लन्डन, (एजेन्सी)
कार्लोस अल्काराज अस्ट्रेलियन ओपन जित्दै सिंगल्सतर्फ करिअरको ग्रान्डस्लाम पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बन्ने कीर्तिमान रचेका छन् । आइतबार मेलबर्न कोर्टमा नोभाक जोकोभिचको कीर्तिमानी २५ औं ग्रान्डस्लाम जित्ने लक्ष्य विफल तुल्याउँदैं अल्काराजले कीर्तिमान राखेका हुन् ।
स्पेनी खेलाडी अल्काराजले उक्त फाइनल खेलमा पहिलो सेट गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्दा सर्बियाका लिजेन्ड उपाधिबाट विमुख भए । यो खेल कार्लोसले २–६, ६–२, ६–३, ७–५ सेटले जितेका हुन् ।
३८ वर्षीय जोकोभिच अस्टे«लियन ओपनमा १० पटक च्याम्पियन बनिसकेका छन् । उनको तुलनामा अल्काराज उनीभन्दा १६ वर्ष उमेरले कान्छो छन् । अल्काराजले २२ वर्षकै उमेरमा हरेक वर्षमा हुने चार वटै ग्रान्डस्लामको पुरुष सिंगल्सतर्फ उपाधि जित्न सफल भए । उनको करियरको सातौं ग्रान्डस्लाम उपाधि पनि हो ।
अल्काराजले डन बजले राखेको ८८ वर्षको पुरानो कीर्तिमान तोडे । डनले सन् १९३८ मा २२ वर्षकै उमेरमा यूएस ओपन जित्दै करियर ग्रान्डस्लाम पूरा गर्ने कान्छो खेलाडी बन्ने कीर्तिमान राखेका थिए । तर, दिन कम भएको हुँदा अल्काराजले यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
अल्काराजले यसअघि विम्बल्डन, यूएस ओपन र फ्रेन्च ओपन ग्रान्डस्लाम उपाधि जितिसकेका थिए । उनको लागि यही अस्टे«लियन ओपन मात्रै जित्न बाँकी थियो । यो पनि जितेपछि उनले ग्रान्डस्लाम करियर पूरा गरे । उनी यी चारै ग्रान्डस्लाम जित्ने विश्वका नवौं खेलाडी बनेका छन् ।
ग्रान्डस्लाम करियर
टेनिसमा हरेक वर्ष चार वटा ग्रान्डस्लाम प्रतियोगिता आयोजना गरिन्छ । जसमा, अस्टे«लियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन प्रतियोगिता हुन् ।
यी चारै वटा ग्रान्डस्लाम प्रतियोगिता विश्व टेनिसमा हुने सबैभन्दा प्रतिष्ठित र प्रमुख पनि हुन् । यसैले टेनिस खेलाडीको करियरमा एक ग्रान्डस्लाम उपाधि जितेपनि सफल मानिन्छ ।
यी चारै वटा ग्रान्डस्लाम जितेमा खेलाडीको करियर ग्रान्डस्लाम पूरा हुन्छ । टेनिसको लामो इतिहासमा कयौं खेलाडी आए शीर्ष स्थानमा रहे तर, यो करियर ग्रान्डस्लाम पूरा गर्नेमा केवल ९ पुरुष खेलाडी रहेका छन् ।
करियर ग्रान्डस्लाम पूरा गर्ने पुरुष खेलाडीहरू:
कार्लोस अल्काराज –२०२६ अस्टे«लियन ओपन –२२ वर्ष २७२ दिन
डन बज –१९३८ फ्रेन्च ओपन –२२ वर्ष ३६३ दिन
रड लेभर – १९६२ यूएस ओपन –२४ वर्ष ३२ दिन
राफायल नाडाल – २०१० यूएस ओपन –२४ वर्ष १०१ दिन
फ्रेड पेरी –१९३५ फ्रेन्च ओपन –२६ वर्ष १५ दिन
रोय इमर्सन –१९६४ विम्बल्डन –२७ वर्ष २४३ दिन
रोजर फेडेरर – २००९ फ्रेन्च ओपन –२७ वर्ष ३०३ दिन
नोभाक जोकोभिच – २०१६ फ्रेन्च ओपन –२९ वर्ष १४ दिन
आन्द्रे आगासी – १९९९ फ्रेन्च ओपन –२९ वर्ष ३८ दिन











प्रतिक्रिया