भन्सार र हुलाकका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, २३ थान मोबाइल सेटसमेत बरामद


काठमाडौँ।

कुरियरमार्फत विदेश सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको आरोपमा भन्सार र हुलाक कार्यालयका तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

अख्तियारका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र गोश्वरा हुलाक कार्यालय पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई डिल्लीबजारस्थित गोश्वरा हुलाक कार्यालयबाट नियन्त्रणमा लिइएको हो।

उनीहरूको साथबाट घुस/रिसवत बापत लिइएको तथा स्रोत नखुलेको रकम गरी जम्मा २ लाख ६८ हजार २८८ रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ। साथै विभिन्न व्यक्तिका नाममा रहेका २३ थान मोबाइल सेट समेत नियन्त्रणमा लिइएको छ।

अख्तियारले उनीहरूले कुरियर कम्पनीमार्फत विदेश सामान पठाउने क्रममा सेवाग्राहीसँग अवैध रकम असुल्ने गरेको सूचना तथा उजुरीका आधारमा कारबाही अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।