बाजुराका उम्मेदवारहरूले गरे साझा प्रतिबद्धता

564
Shares

बाजुरा ।

‘के बाजुराका उम्मेदवारले सामूहिक फोटो खिचाएर स्वच्छ प्रतिस्पर्धा गर्ने प्रण गर्लान् ?’ भन्ने शीर्षकमा ‘न्युज–अफ–नेपाल–डट–कम’ मा समाचार प्रकाशित भएपछि जिल्लाका आठवटै उम्मेदवारले संयुक्त हस्ताक्षरसहितको ९ बँुदे प्रतिबद्धतापत्र जाहेर गरेका छन् । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एक स्वतन्त्रसहित ७ दलका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उनीहरुले हस्ताक्षर गरेसँगै प्रभावकारी कार्यान्वयन गरिने अपेक्षा गरिएको छ । ‘बाजुरामा विगतको निर्वाचन सुखद नभएको र बाजुरा जिल्लाको छवि पनि बिग्रेको महसुस गर्दै अब योग्यता पुगेका सबै नागरिकले आफूले चाहेको प्रतिनिधि छान्न निर्भिक रुपमा मतदान गर्न पाउनेछन्’, सम्मेलनमा उपस्थित सबै उम्मेदवारले भने।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाजुराका राजनीतिक दल र उम्मेदवारहरूले सार्वजनिक रूपमा संयुक्त प्रतिबद्धता जनाउनु जिल्लाको चुनावी इतिहासमा सकारात्मक संकेतका रूपमा देखिएको छ । यसअघिका निर्वाचनमा प्रायः प्रतिस्पर्धा तीव्र हुँदा आपसी द्वन्द्व, आरोप–प्रत्यारोप र सामाजिक तनाव देखिँदै आएको सन्दर्भमा यो प्रतिबद्धता राजनीतिक परिपक्वताको उदाहरण मान्न सकिन्छ ।

संयुक्त प्रतिबद्धता पत्रमार्फत दल र उम्मेदवारहरूले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने स्पष्ट अडान व्यक्त गरेका छन् । प्रचार–प्रसारलाई शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने तथा उम्मेदवारको व्यक्तिगत जीवनमाथि टीका–टिप्पणी नगर्ने भनाइले विगतका चुनावी विकृतिप्रति आत्मसमीक्षा गरेको संकेत दिन्छ ।

यस्तै उम्मेदवारहरुको सामूहिक प्रतिबद्धतामा जिल्लामा सामाजिक शान्ति तथा अमनचयन, समानता, राजनीतिक सद्भाव र सुशासनका लागि उम्मेदवारी रहेको भन्दै यसको कार्यान्वयनमा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी निर्वाचनमा मतदान प्रक्रिया स्वतन्त्र र शान्तिपूर्ण बनाउने, प्रचार कार्य सौहार्दपूर्ण र मर्यादित बनाउने, एक–अर्को राजनीतिक दल र उम्मेदवारको सम्मान गर्ने, उम्मेदवारको व्यक्तिगत जीवनका विषयमा टीका–टिप्पणी गर्ने÷गराउने कार्य नगर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै निर्वाचनको प्रचार र मतदान प्रक्रियामा कसैबाट कुनै प्रकारको धाँधली, घुसपैठजस्ता कार्य तथा व्यवहार भएमा संयुक्त अस्वीकार गर्ने, निर्वाचनमा उत्पन्न हुने विवाद आपसी संवादबाट व्यवस्थापन गर्ने, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, उम्मेदवारीको विषय बनाई व्यक्ति, समूह तथा समुदायबीच द्वन्द्व उत्पन्न हुने कार्य नगर्न आम जनसमुदाय र मतदातामा अनुरोधसहितको प्रतिबद्धता जनाएका छन् ।

आठजना उम्मेदवारले सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षरसहित यो जिल्लाको मात्रै नभई समग्र राजनीतिक असल अभ्यास भएको भन्दै यसको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धतासमेत जनाएका छन् ।

‘यो सामूहिक संकल्प प्रतिज्ञाले सेल्फ रियलाइजेसन गराएको बताउँदै बाजुरा मानव विकास सूचाकांकमा ७७ स्थानमा रहे तापनि बाजुरा चेतनामा एक नम्बरमा छ भन्नेमा विस्वस्त पार्न चाहन्छौं’, नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जनकराज गिरीले भन्नुभयो । प्रजातन्त्रमा स्वतन्त्ररुपमा आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न पाउनु उसको नैसर्गिक अधिकार भएकोले त्यसको रक्षा गर्न यो प्रतिबद्धता गरेको उहाँको भनाइ थियो ।

त्यस्तै पुराना दलले केही गरेनन् भन्ने भाष्य गलत भएको, पुराना दलले उल्लेखनीय परिवर्तन गरेको, तथापि चाहेजति गर्न भने नसकेको नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश शाहले भन्नुभयो, ‘राजनीतिलाई अपराधीकरण र अपराधीलाई राजनीतीकरणको अन्त्य गर्न सामूहिक प्रतिबद्धता उत्तम विकल्प हो ।’ त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार हेमराज थापाले भन्नुभयो, ‘यो सुनौलो बिहानीलार्ई साक्षी राखेर बाजुराका एक लाख ५० हजार नागरिकको मौलिक हकको ग्यारन्टी हुनेछ भने योग्यता पुगेका मतदाताले स्वतन्त्ररुपमा मतदान गर्न पाउने सुनिश्चितता भएको छ ।’ उहाँले देशको १६५ वटै क्षेत्रका उम्मेदवारले यस्तो असल अभ्यासबाट पाठ सिक्नुपर्ने धारणा राख्नुभयो ।

यो प्रतिबद्धतासँगै बाजुरेली जनताले आफ्नो अभिमत आफैँ उपभोग गर्न पाउने कुरा राप्रपा नेपालका उम्मेदवार केशरबहादुर शाहीले भन्नुभयो । नेकपा माओवादीका उम्मेदवार भुपेन्द्र ल्वारले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै भन्नुभयो, ‘ठूला र साना दलबीचको विभेद अन्त्य भएको छ ।’ त्यसै गरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार दीपक डिसीले विगतमा बुथ कब्जा गरी चुनाव जित्ने परिपाटीको अन्त्य भएको बताउँदै दलभन्दा ठूलो बाजुरा भएको उद्घोष गर्नुभयो । नौबुँदे प्रतिबद्धता पत्रमा ‘विकास र सभ्य बाजुरा– हाम्रो प्रतिबद्धता’ भन्दै उम्मेदवारले साझा प्रतिबद्धता गरी संयुक्त हस्ताक्षर गरेका छन् । यसको पालना हुन्छ कि हुँदैन ? त्यो भने हेर्न बाँकी छ ।