चलचित्र पत्रकार दिनेश सिटौला रहेनन्


चलचित्र पत्रकार संघ नेपालका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दिनेश सिटौलाको आइतवार निधन भएको छ।
उनको दिउँसो पौन एक बजे निधन भएको उनी उपचाररत टोखास्थित ग्रायाण्डी अस्पतालले जनाएको छ। सिटौला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहस“ग चुनावी अभियानमा सरिक हुने क्रममा अछाममा अचानक बेहोस भएर ढलेका थिए। अछामबाट नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रवार काठमाडौं ल्याइएका सिटौलालाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। अस्पतालले ब्रेन ह्यामरेज (मस्तिष्कघात) का कारण उनको मृत्यु भएको जनाएको छ।

गत शुक्रवार बिहान अछामस्थित रास्वपा नेता तथा अछाम – २ का प्रतिनिधिसभा उम्मेद्ववार भुपदेव शाहकोे घरमा चिया पिउने क्रममा चिसो भएपछि गाडीबाट टोपी निकालेर पहिरनका लागि ३ पटक टोपी टक्टक्याउँदै गर्दा उनी अचानक बेहोस भएर ढलेका थिए। अचानक ढलेर बेहोस भएपछि उनलाई अछाम जिल्ला अस्पताल पु¥याइएको थियो। अस्पतालका चिकित्सकले सुर्खेत अस्पताल लैजान रेफर गरेका थिए। स्थानीय जिल्ला अधिकारीले सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाई उनलाई काठमाडौं पठाएका थिए।

२०३७ साल कार्तिक ५ गते बुबा गोकर्णराज सिटौला र आमा स्व. खेम कुमारीको तेस्रो सन्तानका रूपमा नुवाकोटमा जन्मेका सिटौला डेढ दशकभन्दा लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील थिए। द सिनेमा टाइम्स डटकमका सञ्चालक रहेका सिटौलाले टेलिभिजनमा पनि सिनेमासम्बन्धी कार्यक्रम चलाएका थिए। चलचित्र पत्रकार संघमा २०७० सालदेखि २०७३ सम्म सचिव, २०७३ देखि २०७६ सम्म उपाध्यक्ष र २०७६ देखि २०७९ सम्म अध्यक्षका रूपमा कार्यभार सम्हालेका उनको शव प्रहरीको आग्रहमा पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। पोष्टमार्टमपश्चात उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डको राखिएको थियो। जहाँ विभिन्न कलाकर्मी, पत्रकार, परिवार र आफन्तजनले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए।

उनको आइतवार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ। सिटौलाको परिवारमा बुबा, २ दिदी, १ दाइ र १ भाइ रहेका छन्। सिटौलाको निधनप्रति चलचित्र पत्रकार संघ नेपाल, चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघलगायतका संघ संस्थाले विज्ञप्ती जारी गरेर शोक व्यक्त गरेका छन्।