मुटुको नसामा क्याल्सियम जमेका बिरामीको सफल उपचार

752
Shares

काठमाडौं ।

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा मुटुको नसामा अत्यधिक क्याल्सियम जमेर नसा करिब पूर्ण रूपमा अवरुद्ध भएका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिमार्फत सफल उपचार गरिएको छ ।

नर्भिकको कार्डियोलोजी विभाग प्रमुख डा. यादव भट्टको नेतृत्वमा रहेको चिकित्सक टोलीले छाती दुख्ने समस्या लिएर ओपीडीमा आएका एक बिरामीको उपचार गरेको हो । परीक्षणका क्रममा ती बिरामीको मुटुको मुख्य नसामा करिब ९९ प्रतिशत अवरोध देखिएको र नसाभित्र अत्यधिक क्याल्सियम जमेको पाइएको थियो ।

डा. भट्टका अनुसार क्याल्सियम अत्यधिक जमेको अवस्थामा सामान्य एन्जियोप्लास्टी सम्भव हुँदैन । ‘यस्तो अवस्थामा समयमै क्याल्सियम हटाएर नसा नखोलिए बिरामीमा हृदयघातको उच्च जोखिम रहन्छ’ –उहाँले भन्नुभयो । मंगलवार नर्भिकको क्याथल्याबमा गरिएको उपचारमा चिकित्सक टोलीले विशेष उपकरण प्रयोग गरी मुटुको नसामा जमेर बसेको क्याल्सियमलाई ‘तासेर’ हटाएको थियो । त्यसपछि मात्र नसा खुला गरी स्टेन्ट राखिएको थियो । क्याल्सियम हटाउने यो प्रक्रियालाई चिकित्सकीय भाषामा ‘अर्बिटल एथेरेक्टोमी प्रोसिजर’ भनिन्छ ।

डा. भट्टका अनुसार मुटुको नसामा क्याल्सियम धेरै जमेको अवस्था दुर्लभ मानिन्छ र यसको उपचारका लागि प्रयोग हुने अर्बिटल एथेरेक्टोमी प्रविधि नेपालमा नयाँ हो । ‘यो केसमा हामीले पहिला क्याल्सियम हटाएरमात्र स्टेन्ट राखेका हौँ । सायद नेपालमा गरिएको पहिलो यस्ता प्रकारको उपचार हो’ –उहाँले जानकारी दिनुभयो ।

उपचारपछि बिरामीको अवस्था स्थिर रहेको र आवश्यक निगरानीका लागि आईसीयूमा राखिएको अस्पतालले जनाएको छ । उपचार प्रक्रियामा डा. भट्टसँगै डा. नग्मा श्रेष्ठ, डा. राजीव श्रेष्ठ र डा. सन्तोष श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

डा. भट्टका अनुसार प्रायः मधुमेह, मिर्गौला रोग, दीर्घकालीन उच्च रक्तचाप तथा उमेर बढ्दै गएका बिरामीमा मुटुको नसामा क्याल्सियम जम्ने समस्या देखिन्छ । केही अवस्थामा भने युवाहरूमा पनि यो समस्या देखिन सक्छ । डा. भट्टले नेपालमा यस्तो जटिल अवस्थामा पुगेका बिरामीको संख्या कम देखिए पनि उपचारको पहुँच ढिला हुने कारणले अन्तिम चरणमा मात्रै अस्पताल आइपुग्ने प्रवृत्ति चिन्ताजनक रहेको बताउनुभयो ।