नेपाली माउन्टेन बाइकिङको आकाशमा चम्किएकी नक्षत्र उषा खनाल

साइकलबाट सपनालाई यथार्थमा बदलेकी ‘डबल गोल्ड मेडलिस्ट’

470
Shares

नेपाली महिला माउन्टेन बाइकिङको आकाशमा एउटी जाज्वल्यमान नक्षत्रका रूपमा उदाएकी नाम हुन उषा खनाल । हिमालका पदचापहरू सँगसँगै कुँदिएका साँघुरा र जोखिमपूर्ण ट्रेलहरू, जहाँ पातलो हावा र गुरुत्वाकर्षणले हरेक पल साहसको अग्निपरीक्षा लिन्छन्, त्यहीँ झन्डै एक दशकदेखि उषाले आफ्नो पसिना र संकल्पको कथा लेखिरहेकी छिन् । धुलोले भरिएको हेल्मेट, पसिनाले निथ्रुक भिजेको अनुहार र पटक–पटकका चोटहरूले सजिएको उनको शरीरले एउटा सामान्य खेलाडीको मात्र होइन, बरु दृढ इच्छाशक्ति भएकी एक योद्धाको परिचय दिन्छ । गोरखाको देउरालीका शान्त डाँडाकाँडाबाट सुरु भएको उनको जीवनयात्रा केवल पदक र पोडियमको चमकधमकमा मात्र सीमित छैन । उनको यात्रा सामाजिक घेराबन्दी र डरका पर्खालहरू भत्काउँदै अघि बढेको एउटा प्रेरणादायी संघर्षको कथा हो ।

सन् १९९२ मा जन्मिएकी उषाको सुरुआती जीवन कुनै खेलकुदीय विरासतबाट प्रारम्भ भएको थिएन । काठमाडौँको उल्लेन्स किन्डरगार्टेनमा साना नानीबाबुहरूलाई अक्षर चिनाउँदै गर्दा उनको दिनचर्या निकै सुरक्षित र स्थिर देखिन्थ्यो । तर, त्यो शान्त आवरणभित्र एउटा यस्तो विद्रोही मन लुकेको थियो, जो पहाडका चुचुराहरूसँग मितेरी लगाउन र हिलो अनि ढुङ्गाका घुम्तीहरूमा आफ्नो साहस परीक्षण गर्न आतुर थियो । सन् २०१५ मा हात्तीवनको जंगलमा माउन्टेन बाइकहरू उकालो–ओरालो गरिरहेको दृश्य देखेपछि उनको जीवनको लय नै बदलियो । एउटा साधारण कौतुहलताबाट सुरु भएको त्यो आकर्षण चाँडै नै यस्तो जुनूनमा परिणत भयो, जसले उनलाई शिक्षिकाको मार्कर र ह्वाइट बोर्ड छोडाएर साइकलको ह्यान्डल समात्न बाध्य तुल्यायो।

आफ्नो सामान्य तलबबाट बचत गरेर व्यावसायिक माउन्टेन बाइक किन्नु उषाका लागि केवल खेल सामग्रीको खरिद गर्नु मात्र थिएन । बरु समाजले कोरिदिएको ‘सुरक्षित भविष्य’ को रेखाविरुद्धको एउटा मौन विद्रोह थियो । परिवार र छरछिमेकले यो नयाँ बाटोलाई सहजै स्वीकार्ने अवस्था थिएन, त्यसैले उनले केही समय आफ्नो सपना र साइकल दुवैलाई लुकाएरै राखिन् । तर, लुकाइएको त्यो सपनाभित्रको आगो झन् दन्किँदै गयो । उनको खेल जीवनको वास्तविक अग्निपरीक्षा नख्खीपोटको ‘अर्बन एक्ससीओ रेस’ मा भयो । जहाँ झरीले चिप्लो बनेको ट्रेलबाट लडेर उनी मकैबारीमा बजारिइन् । खुट्टामा गहिरो चोट लागेर रगत बगिरहँदा पनि उनले हार मानिनन्, बरु उठेर रेस पूरा गरिन् । अस्पतालमा सातवटा टाँका लगाउँदा समेत उनको मुहारमा पीडा होइन, खेलप्रतिको अदम्य निष्ठा झल्किन्थ्यो ।
सुरुवाती दिनमा गियर रेसियो र प्राविधिक ज्ञानको अभावले अलमलिए पनि उषासँग कहिल्यै नथाक्ने खुट्टा र कहिल्यै नहार्ने मन थियो । यही जुझारुपनले उनलाई सन् २०१६ को राष्ट्रिय च्याम्पियनसिपमा काँस्य हुँदै २०१७ को पाल्पा एमटिबी रेसमा स्वर्ण र २०१९ को १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदकको उँचाइसम्म पु¥यायो । कुनै समय उनको जोखिम देखेर डराउने अभिभावकहरू आज छोरीको सफलतामा हर्षका आँसु बगाउँदै गर्व गर्छन् । देश र विदेशका गरी दर्जनौं विश्वस्तरका चर्चित प्रतियोगिताहरुमा आफ्नो उपस्थितिलाई सार्थक बनाएकी उषाले आफूलाई केवल ट्रयाकमा मात्र सीमित राखिनन् । बरु मेकानिक र गाइडका रूपमा वर्कसपको ग्रीजसँग पौँठेजोरी खेल्दै शून्यबाट आफ्नो साम्राज्य खडा गरिन् । पुरुषको वर्चस्व रहेको यस क्षेत्रमा नेपालकै पहिलो महिला एएमजीए–प्रमाणित गाइड बन्नु र ‘मोक्ष’ डकुमेन्ट्रीमार्फत विश्वसामु चिनिनु उनको करियरका सुनौला पानाहरू हुन् ।

तर, सफलताको यो आरोहणमा सन् २०२० को एउटा भयावह दुर्घटनाले ठूलो धक्का लाग्यो । चारवटा जटिल शल्यक्रिया र “फेरि हिँड्न सकिएला कि नसकिएला” भन्ने अनिश्चितताका बीच पनि उषाले हार स्वीकार गरिनन् । उनले ती शारीरिक घाउहरूलाई आफ्नो कमजोरी होइन, बरु पुनरागमनको कवच बनाइन् । उनको पुनरागमन यति सशक्त रह्यो कि उनले डाउनहिल र क्रस–कन्ट्री जस्ता दुई भिन्न विधामा २४ घण्टाको अन्तरालमा दुई स्वर्ण पदक जितेर नेपालकै पहिलो ‘डबल गोल्ड’ विजेता महिला माउन्टेन बाइकर बनेर इतिहास रचिन् । यसबाहेक याक अट्याक, पोखरा माउन्टेनबाइक च्याम्पियनसिप र याला मेयर कप जस्ता प्रतिष्ठित प्रतियोगिताहरूमा उनले आफ्नो दबदबा कायम राखिन् । यो उपलब्धि पदकमा मात्र सीमित थिएन, यो त नेपाली महिलाहरूका लागि सपनाको क्षितिज फराकिलो बनाउने एउटा शंखघोष थियो ।

अहिले नेपाल ओलम्पिक कमिटीबाट ओलम्पिक स्कलरसिप प्राप्त गर्ने पहिलो नेपाली महिला माउन्टेन बाइकर बनेसँगै उषाको काँधमा सिंगो देशको भरोसा थपिएको छ । भारत, चीन, स्कटल्याण्ड, अमेरिका लगायत थुप्रै अन्तर्राष्ट्रिय ट्रेलहरूमा आफ्नो छाप छाडिसकेकी उषाको नजर अब विश्वस्तरका ठूला मञ्चहरूमा छ । विशेषगरी आगामी विश्वस्तरका प्रतियोगिताहरु र ओलम्पिक छनोटका प्रतियोगिता उनका लागि मुख्य प्राथमिकतामा रहेका छन् । थोराङ ला पास जस्ता विश्वका कठिनतम उँचाइहरूमा साइकल कुदाएकी उषा अब ओलम्पिकको ट्रयाकमा नेपाली झण्डा फहराउने लक्ष्यका साथ कडा अभ्यासमा छिन् । आफूले स्थापना गरेको ‘हिमालयन वुमन ट्रेल’ जस्ता संस्थामार्फत अन्य महिलाहरूलाई पनि घरको चौघेराबाट बाहिर निकाल्न सक्रिय उनी केवल एक खेलाडी मात्र होइनन्, साहस र आत्मनिर्भरताको पर्याय बनेकी छिन् । नख्खीपोटको मकैबारीबाट सुरु भएको उनको यो संघर्षशील यात्राले यदि मनमा दृढ अठोटको बीजारोपण गर्ने हो भने संसारमा असम्भव केही पनि हँुदैन भन्ने एउटा स्पष्ट सन्देश दिन्छ ।