तनहुँ विकास समाजको संयोजकमा बसन्ती बास्तोला


काठमाडौं ।

तनहुँ जिल्लाको समग्र, समावेशी र दीगो विकासका विषयमा छलफल तथा भावी कार्यदिशा तय गर्ने उद्देश्यले आयोजित भेलाले तनहुँ विकास समाजको संयोजक समिति गठन गरेको छ।

शुक्रबार काठमाडौँमा सम्पन्न भेलाले शुक्लागण्डकी नगरपालिकाकी बसन्ती बास्तोलालाई सर्वसम्मत रूपमा संयोजकमा चयन गरेको छ भने भानु नगरपालिकाका कृष्ण गुरुङलाई सह संयोजकको जिम्मेवारी प्रदान गरेको छ।

भेलामा तनहुँ जिल्लाको कृषि, उद्यमशीलता, रोजगारी, स्थानीय उत्पादन प्रवर्द्धन, बजार पहुँच, नीति सुधार, युवाको सहभागिता, स्टार्टअप प्रवर्द्धन तथा दीर्घकालीन विकास मोडलबारे विस्तृत छलफल गरिएको थियो।

सहभागीहरूले उत्पादनमुखी विकास, किसान उपभोक्ता प्रत्यक्ष जोड्ने प्रणाली, स्थानीय स्रोत र सीपको अधिकतम उपयोग तथा नीति निर्माणमा स्थानीय आवाज बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।

नव निर्वाचित संयोजक बसन्ती बास्तोलाले तनहुँ विकास समाजलाई राजनीतिक भन्दा माथि उठेर जिल्लाको साझा हितका लागि काम गर्ने प्लेटफर्मका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै तनहुँबासीको सुझाव, अनुभव र सक्रिय सहभागिताका साथ अगाडि बढ्ने बताइन्।

सह संयोजक कृष्ण गुरुङले स्थानीय तह, निजी क्षेत्र, युवाहरू र विज्ञहरूको सहकार्यमा तनहुँ केन्द्रित विकास मोडल तयार गरी त्यसलाई व्यवहारमा उतार्न समाजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

भेलामा सहभागीहरूले तनहुँ विकास समाजलाई दीर्घकालीन सोचसहित संस्थागत रूपमा अघि बढाउँदै जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा प्रभावकारी योगदान पुर्‍याउने निर्णयसमेत गरेका छन्।