धादिङ महोत्सवमा बूढीगण्डकी निर्माणको दबाब

अर्थतन्त्र बलियो हुन निजी क्षेत्र बलियो हुनुपर्ने अध्यक्ष ढकालको भनाइ

564
Shares

धादिङ ।

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा दशौँ धादिङ महोत्सव उद्घाटनको अवसरमा निजी क्षेत्र र सरोकारवालाले बूढीगण्डकी जलाशययुक्त जलविद्युत परियोजना निर्माण तत्काल सुरु गर्न माग गर्दै जनताको लगानीको मोडालिटि बनाउन माग गरेका छन् ।

धादिङ र गोरखाको सिमानामा रहेको १२ सय मेगावाटको बूढी गण्डकी जलाशययुक्त जलविद्युत परियोजना निर्माण सम्पन्न गरेपछि धादिङ गोरखाले मात्र फाइदा नपाउने भइ देशले फाइदा पाउने महोत्सव उद्घाटनमा बोल्ने वक्ताहरुले बताएका छन् ।

३ सय ७४ अर्ब लागन अनुमान गरिएको बूढीगण्डकी जलविद्युत परियोजनाले ८ हजार घरपरिवार ४९ हजार जग्गा प्रभावित हुने छ । हालसम्म ४२ दशमलब ६५ अर्ब मुआब्जा वितरण गरिसकेको  छ भने पेट्रोलियम पदार्थमा लगाइएको करबाट १ सय ६८ अर्ब रकम संकलन भएको भएपनि मोडालिटि समेत स्पष्ट नहुँदा अन्यौलमा परेकोले गौरवको आयोजना भनिएको बुढी गण्डकी परियोजना निर्माण कार्य तत्काल सुरु गर्न माग गरिएको छ ।

बूढीगण्डकी जलविद्युत परियोजना सुरु गर्न सरकारसंग छलफल गरेर लगानी गर्न उद्योग वाणिज्य महासंघ तयार रहेको बताउनुभयो । अर्थतन्त्र बलियो हुन निजी क्षेत्र बलियो हुनुपर्नेमा जोड दिँदै महासंघका अध्यक्ष ढकालले आर्थिक मन्दी र समस्याका कारण निजी क्षेत्रले ठुलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्नुभयो । 

महासंघ अध्यक्ष ढकालले निजी क्षेत्र केवल नाफाका लागि मात्र नभई देशको कर प्रणाली, रोजगारी सृजना र आर्थिक गतिविधि चलायमान बनाउन अग्रणी रहेको स्पष्ट पार्नुभयो। सोही अवसरमा उहाँले वर्षौंदेखि चर्चामा रहेको धादिङ र गोरखा जिल्लाको सिमानामा निर्माण हुन लागेको बूढी गण्डकी जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउन सरकारसँग आग्रह समेत गर्नुभयो।

महोत्सवको अवसर पारेर धादिङ उद्योग वाणिज्य संघले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि दबाब दिन हस्ताक्षर अभियान  संचालन गरेको छ ।

सोही अवसरमा प्रमुख अतिथि ढकालले हस्ताक्षर गरी ऐक्यबद्धता जनाउनुभयो। कार्यक्रमका सभापति एवं धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले महोत्सवले जिल्लाको कृषिजन्य उत्पादन, घरेलु तथा औद्योगिक वस्तुको प्रदर्शन र सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। विशेष अतिथि एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले यस्ता मेला महोत्सवले स्थानीय उद्यमीहरूलाई प्रोत्साहन गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने बताउनुभयो।

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत र उद्योगको पूर्वाधार भन्ने मूल नाराका साथ बिहीबारदेखि धादिङबेसीको खुल्ला मञ्च सुरु भएको दशौं धादिङ महोत्सव आगामी २५ माघसम्म सञ्चालन हुनेछ ।

महोत्सवको औपचारिक सुरुवात हुनुअघि सदरमुकाम धादिङबेसी बजारमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी र ¥याली प्रदर्शन गरिएको थियो। तामाङ, नेवार, चेपाङ, गुरुङ, कुमाल, बारम र क्षेत्री महिला समूहहरूले आ–आफ्नो जातीय पहिचान झल्किने भेषभूषामा नाचगान सहित बजार परिक्रमा गरेका थिए । घोडचढी नाच, कुमाल सोरठी,  चुड्का भजन र पञ्चेबाजाको धुनले बजार गुञ्जायमान बनेको थियो भने स्थानीय विभिन्न सांस्कृतिक झाँकीहरूले धादिङको विविधतापूर्ण सामाजिक एकताको तस्बिर प्रस्तुत गरेका थिए ।

जिल्लामा आयोजना हुने यस्ता महोत्सवहरूको औचित्य केवल मनोरञ्जनमा मात्र सीमित नभई यसले समग्र जिल्लाको आर्थिक र सामाजिक विकासमा दूरगामी प्रभाव पार्ने वक्ताहरुले वताएका थिए ।  महोत्सवले गाउँगाउँमा रहेका साना तथा घरेलु उद्यमीहरूलाई आफ्नो उत्पादन प्रदर्शन र बजारीकरण गर्ने एउटा साझा मञ्च प्रदान गरेको छ। यसले उत्पादक र उपभोक्ता बिचको सिधा सम्पर्क स्थापित गराई स्थानीय वस्तुको उपभोग गर्ने बानीको विकास गर्नुका साथै, विभिन्न जातजातिका झाँकी र सांस्कृतिक प्रस्तुतिले लोपोन्मुख परम्पराहरूको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको धादिङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले बताउनु भयो ।

महोत्सवमा कृषि प्रदर्शनी, औद्योगिक उत्पादनका स्टलहरू र दैनिक रूपमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरू मुख्य आकर्षणका रूपमा रहेका छन् । सल्यानटारको मास, खरीको मह, पिडालु, ज्वालामूखीको मस्यौरा, गल्छीको खुवा पनिर र ठेकी, लगायतका स्थानीय उत्पादन र घरेलु सामाग्री हरु रहेको छ । कृषि उपजको प्रदर्शनी र प्रतियोगिता समेत आयोजना गरिएको छ । जिल्लाका विभिन्न किसिमका कृषि उत्पादन महोत्सवमा राखिएको छ ।

महोत्सवको अवसर पारेर धादिङको सुनौलावजारमा रहेको भैरवी मन्दिरको प्रचार प्रसार र गर्दै आन्तरिक पर्यटन गर्न सहयोग पु¥याउने आयोजकको भनाई छ । गन्तव्य भैरवी अभियानको रुपमा महोत्सवमा भैरवी मन्दिर झल्किने गरी गेट तथा माहाँको चिनो समेत बनाइएको छ ।

महोत्सवमा व्यापारिक तथा व्यावसायिक ११० र प्रदर्शनीका ५० गरी जम्मा १६० वटा स्टलहरू रहेका छन्। स्थानीय परिकार तथा सांस्कृतिक खानाको प्रदर्शनीले धादिङको मौलिक स्वादलाई आगन्तुकमाझ पस्कने बताइएको ।  महोत्सवमा ३ लाखले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।