हेटौंडा । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरु प्रारम्भमा मकवानपुरका गाउँगाउँ पुग्न थालेका छन् । विभिन्न पार्टीका स्थानीय मात्र होइन, केन्द्रीय तहका नेता घरदैलो गर्न थालेसँगै गाउँहरु चुनावी रौनकले गुल्जार हुन थालेका छन् ।
आफ्ना आन्तरिक बैठक र छलफलसँगै मतदाताका घर–आँगनमा आफूहरु उम्मेदवारका साथ पुगेको नेपाली कांग्रेस हेटांैडा नगर समिति सभापति उत्सव इटेनीले बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टी मकवानपुरका नेता सर्केश घलान पनि दलका नेता–कार्यकर्ताका साथ उम्मेदवार गाउँ पुगेकाले निर्वाचनको वातावरण बनेको बताउनुहुन्छ ।
मकवानपुरमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । दुवै निर्वाचन क्षेत्रमा पुराना र नयाँ उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । मकवानपुर क्षेत्र–१ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय डीना, नेकपा एमालेबाट केन्द्रीय सदस्य रामेश्वर राना, नेपाली कम्युनिस्ट पार्टीबाट विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रकाश गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निवर्तमान सांसद दीपकबहादुर सिंह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठसहित २३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
क्षेत्र–२ मा नेकपा एमालेबाट केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले उम्मेदवारी दर्ता गराउँदा नेपाली कांग्रेसबाट बुद्ध लामा, नेपाली कम्युनिस्ट पार्टीबाट लवशेर विष्ट, रास्वपाबाट प्रशान्त उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट र श्रम संस्कृति पार्टीबाट युनेस लामासहित २१ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मकवानपुरमा एक लाख ६१ हजार ९ सय ५३ पुरुष, एक लाख ५३ हजार ३ सय ७६ महिला र अन्य ५ गरी कुल तीन लाख १५ हजार ३ सय ३४ मतदाता छन् ।
खसीको टाउकोदेखि प्रेसर कुकुरसम्म
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका स्वतन्त्र उम्मेदवारहरुले खसीको टाउकोदेखि प्रेसर कुकुरसम्म चुनाव चिह्न पाउनुभएको छ । क्षेत्र–१ का स्वतन्त्र उम्मेदवार अमर दंगालले खसीको टाउको, राजकुमार खड्काले प्रेसर कुकर, अमिक परियारले काउली, टीकाप्रसाद चौलागार्इंले चेसको गोटी, प्रमिलाकुमारी खतिवडाले ठेकी चुनाव चिह्न पाउनुभयो । मिठु पुलामीमगरले फिर्पिmरे, राकेशकुमार शर्माले आँप, राजाराम बोगटीले जिप, सुशीला सुवेदीले झोला र ज्ञानसागर लामाले कैंची चुनाव चिह्न पाउनुभएको छ ।
क्षेत्र–२ का स्वतन्त्र उम्मेदवार अमृत बलले त्रिभुज, कृष्णराम श्रेष्ठले जिप, प्रतीक्षा बानियाँले ठेकी, रमेश आचार्यले क्यामरा र सीतामाया बलले ट्रफी चुनाव चिह्न पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका निर्वाचन क्षेत्रहरुमा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । क्षेत्र–१ मा १० र क्षेत्र–२ मा ५ जनाले गरी १५ जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । राजनीतिक दलका उम्मेदवारले भने निर्वाचन आयोगमा दर्ता भएको चुनाव चिह्नअनुसार निर्धारण भएको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
मकवानपुरमा कुल ४४ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन आयोगले तोकेको समयभित्र कुनै दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि सबै उम्मेदवारी कायम भएको हो ।
आफूलाई मत दिन नपाउने उम्मेदवार
जनमतबाट निर्वाचित भएर संघीय सांसद बन्ने इच्छासहित उम्मेदवार बनेकामध्ये ८ उम्मेदवारले आफूले आफैंलाई मत दिन पाउँदैनन् । मतदान गर्न नपाउनेमा ठूला दलका उम्मेदवारदेखि अन्य दलका उम्मेदवार हुनुहुन्छ ।
नेपाली कांग्रेसबाट मकवानपुर–१ मा उम्मेदवार डीनाले आफूलाई मतदान गर्न पाउनुहुन्न । उहाँको स्थायी बसोबास क्षेत्र–२ हो । नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले पनि आफंैलाई मतदान गर्न पाउनुहुन्न । मकवानपुर–१ का उम्मेदवार रानाको स्थायी ठेगाना हेटौंडा उपमहानगरपालिका–११ हो । उक्त वडा मकवानपुरको २ नम्बर क्षेत्रमा पर्दछ ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) ले पनि आफूलाई मतदान गर्न पाउनुहुन्न । हेटौंडा–१९ स्थायी ठेगाना भएका उप्रेती मकवानपुर–२ का मतदाता हुनुहुन्छ । श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा उम्मेदवार विद्या श्रेष्ठको घर काठमाडौं–२१ मा भएका कारण पनि उहाँ आफूलाई मत दिन पाउनुहुन्न । सोही पार्टीबाट मकवानपुर–२ का उम्मेदवार युनेस लामाले पनि आफैंलाई मतदान गर्न पाउनुहुन्न । हेटौंडा–१२ ठेगाना भएका उहाँ मकवानपुर–१ का मतदाता हुनुहुन्छ ।
नेमकिपाबाट मकवानपुर–१ मा उम्मेदवार रञ्जना सुवाल भक्तपुरकी मतदाता हुनुहुन्छ । नेमकिपाबाटै मकवानपुर–२ का उम्मेदवार सरोज तामाङ पनि भक्तपुरकै मतदाता हुनुहुन्छ । मकवानपुर–२ का उम्मेदवार जनता समाजवादी पार्टीका छविलाल वाइबाको घर हेटौंडा–१२ मा पर्दछ । वाइबा मकवानपुर–१ का मतदाता हुनुहुन्छ ।
मकवानपुरमा क्षेत्र–१ मा बागमती गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका–१, २, ३ र ४ नम्बर वडा र हेटौंडा उपमहानगरपालिकाको २, ४ देखि १० र १२ देखि १९ नम्बर वडाहरु पर्दछन् । मकवानपुर–२ मा राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाको ५, ६, ७, ८ नम्बर वडा र हेटौंडा उपमहानगरपालिकाको १, ३, ११ र १९ नम्बर वडाहरु पर्दछन् ।
तेत्तीस लाखसम्म खर्च
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । मकवानपुरको निर्वाचन क्षेत्र–१ र निर्वाचन क्षेत्र–२ का उम्मेदवारले तोकिएको खर्चको सीमाभित्र रहेर निर्वाचनमा अधिकतम ३३ लाख खर्च गर्न सक्ने उल्लेख छ ।
नेकपाको प्रचार तीव्र
नेपाली कम्युनिस्ट पार्टीले मकवानपुर निर्वाचन क्षेत्र–१ को बकैयाका लागि चुनावी प्रचारलाई तीव्र बनाएको छ । निर्वाचनलाई लक्षित गर्दै पार्टीको निर्वाचन प्रचारप्रसार समिति मकवानपुर क्षेत्र नम्बर–१ बकैयाले सम्पर्क कार्यालय स्थापना गरी प्रचार गतिविधि अघि बढाएको हो ।
क्षेत्र–१ का उम्मेदवार विजय गौतमले जनताको अधिकार, समानता र सामाजिक न्यायका लागि आफू निर्वाचनमा होमिएको बताउँदै जनतासँग प्रत्यक्ष भेटघाट तथा छलफललाई प्राथमिकता दिएको बताउनुभयो । उम्मेदवार गौतमले पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रको जन्मभूमिबाट प्रचारप्रसार शुरु गरिएको जानकारी दिँदै कुनै हालतमा आफ्नो जन्मभूमिबाट धोका नहुने विश्वास व्यक्त गर्नुभयो ।
स्वस्थ प्रतिस्पर्धा गरी निष्पक्ष जित
नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र–१ का उम्मेदवार रामेश्वर रानाले पार्टी कार्यकर्ताहरु उत्साहपूर्वक निर्वाचनमा जुटेको बताउनुभएको छ । एमाले हेटौंडा–४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै हेटौंडा–४, ६ ७ र १४ को अगुवा कार्यकर्ता भेलाबाट आफू निकै उत्साहित भएको र एमालेको जित सुनिश्चित रहेको बताउनुभयो ।
उहाँले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा एवं विकास र समृद्विको नेतृत्व नेकपा एमालेले गरेको र अबका दिनमा पनि गरिरहन नेकपा एमालेले बहुमत ल्याउन मुलुकको आवश्यकता रहेको दाबी गर्नुभयो । प्रतिस्पर्धीसँग स्वस्थ प्रतिस्पर्धा गरी निष्पक्ष जित निकालिने रानाको भनाइ थियो ।











प्रतिक्रिया