गत भदौ महिनामा भएको जेन्जी समूहको आन्दोलनले अबको राजनीति वृद्ध पुस्ताको नभई युवा पुस्ताको र अझ त्यसमा पनि जेन्जी पुस्ताको हो भन्ने कुरा पुष्टि गरेको छ । अब बूढो पुस्ताले गरेको राजनीति र शासन युवा पुस्ताका लागि सुहाउँदो हुँदैन भन्न खोजिएको हो ।
जेन्जी पुस्ताको उक्त भनाइ आफैँमा यथार्थ हो भन्ने कुरा पुष्टि गर्न उनीहरुको यतिका वर्षको दृष्टिहीन शासन, केवल कमाउ धन्दालाई मलजल गर्ने खालको र जनताको आज्ञा त परै जाओस् कि जनताका विनम्रतापूर्वक गरिएका अपेक्षित आशा र भरोसामा समेत तुसारापात भएको हेरेर त्यसैमा रमाउने शासकीय शैली दैनिक रुपमा अलोकतान्त्रिक बन्दै गएको थियो । कुनै देशका जनता अजेय शक्ति हुन्, जनताले अराएको कुरा नटेर्ने वा जनताले सही प्रश्न विनम्रताका साथ उठाउँदासमेत रिसाउने र जवाफ दिन नचाहने शासक जनताको प्यारो शासक बन्न सक्ने कुरै होइन ।
कोही पनि राजनीतिक व्यक्तित्वले राजनीतिबाट खारिँदै गएर सत्ताको कुर्सीको लालच गर्नु आफैँमा स्वाभाविक प्रक्रिया हो । तर राजनीतिमा खारिएका भनिने तर अनैतिक काममा खारिएका पुराना पिँढीका हाम्रा नेता यतिन्जेल शासक बनेर कसरी टिके ? अबका दिनमा यसरी शासन चल्दा पनि चल्दैन र जनअपेक्षित काम गर्न पनि सकिँदैन । त्यसैले राजनीतिक दलका पुराना र सोचाइ पनि पुरानै भएका नेताले राजनीतिबाट साइड लागेरै बस्दा नै उचित हुने देखिन्छ ।
पुराना तथा बूढा नेताहरुको हुर्मत लिने काम विगतको जेन्जी समूहले गरिसकेको छ । अबका दिनमा पनि साइड नलागेर राजनीतिको मियोमा अडिरहने सपना देख्ने हो भने विगतको तुलनामा अझ सशक्त तरिकाले हुर्मत लिने काम नहोला भन्न सकिँदैन । भदौ २४ गते भौतिक कार्यवाही भोग्नेले भोगे पनि बाँकी रहेका र भौतिक कार्यवाहीबाट जोगिएकारुले अब पनि राजनीतिको मैदानमा सिँगौरी खेल्न आएका खण्डमा अहिले जसरी सुरक्षित अवतरणको बाटो सहज भएको छ, त्यो बाटो पनि स्वयंमा बन्द हुन सक्छ ।
अपवादमा परेका केही पुरानै नेताहरुले आफ्नो साख नगुमाए पनि आजको जेन्जी पुस्ताले खोजेको आमूल राजनीतिक परिवर्तनको सपनालाई कसरी साकार बनाउने ? भन्ने बारेमा निर्णायक भूमिका खेल्ने हैसियत पनि राख्न सक्ने क्षमता राख्दैनन् । विगतका कैयौँ वर्ष त तिनको हो हजुर, हवस हजुरकै शैलीको राजनीति हाबी भएको थियो नि त ! आज आएर शीर्षले अति गरेपछिको असह्य अवस्था सिर्जना भएपछिका दिनमा बिस्तारै विद्रोहको बाटो लिएका वा अपनाएका हुन् । त्यो पनि कतै भागवण्डाको विषयमा बेमेल भएर पनि सानो खालको विद्रोह जन्मेको हुन सक्छ । अर्को राजनीतिक दलले शीर्ष पदमा आसीन गराउन सक्छ भन्नेजस्ता झीना–मसिना आशा र भरोसाको मोहमा रुमलिएर पनि सानो विद्रोह जन्मेको हुन सक्छ ।
पुराना राजनीतिक दलका पुराना नेतामा पनि कोही–कोही नेता त धेरैपटक असफल भयौँ भनेर ट्याग भिरिसकेको अवस्थामा थिए त ! तिनलाई आफ्नो मानसमा कति धेरै घमण्डले छोपेको रहेछ भने, आफू पटक–पटक राजनीतिको कठघरामा उभिएर आफ्नै मानसले अक्षम भएँ भनी बोलिरहँदा पनि प्रकटरुपमा आत्मसात् गरेर देखाउन सकेनौ ? जनता मारेर होस् कि जनता वा देश बेचेर वा दाउमा राखेर होस्, अथाह सम्पत्ति लुटेर थुपार्ने र आफ्नो विरोध गर्नेलाई सके मार्ने, तसके अपांग बनाएर मुख थुन्न विवश बनाउने वा मारेर बाटो साफ गर्ने भन्नेजस्ता विकृतिमूलक सोचले तिनलाई कहिल्यै छोडेन ।
तर आज आएर यी भौतिक सम्पत्तिले मात्र सफल राजनेता हुन नसकिने रहेछ भन्ने कुरा सबैजसोलाई थाहा हुनुपर्ने भए पनि घमण्डको मात्रा अधिक भएकाहरुले मानसिक रुपमा मूल्यांकन गर्न पनि अक्षम भइरहेका छन् । विगतमा त्यति धेरै सम्मानित भएका ती पुराना नेताको आजको हालत र तिनका हर्कत हेर्दा तिनीहरुप्रति घृणा उत्पन्न भएर आउँछ । अबका दिनमा पनि शासन सत्ताको कुर्सीमा तिनैको हालिमुहाली भएको खण्डमा तिनले केचाहिँ गर्लान् र केचाहिँ नगर्लान् भन्ने ठेगान छैन ।
विगतमा एमसीसी पास नगर भनेर करोड जनताले सचेत गराउँदै गर्दा पनि मध्यरातमा एमसीसी पास गरेर खुशीयाली मनाउँदै, विदेशी महँगा रक्सीका बोतल र मासुको स्वादमा रमाउँदै खुशी साट्ने तिनै नेता थिए । तेह्रजना निर्दोष मान्छेलाई बेहोस बनाएर बोरामा खाँदी आगो बलेर रन्केका इँटा भट्टामा फालेर मार्न लगाउनेलाई आजीवन जेलको सजाय भोगाउँदै गर्दा हरेक बहाना बनाएर जेलमुक्त गराउने पनि तिनै पुराना शासकको धन्दा थियो ।
भुटानी शरणार्थीलाई बेचेर अमेरिका पु¥याउने अपराध पनि गर्न भ्याएका थिए । यस प्रकारका अनेक थरीका अपराध कर्म गरी कमाएर गोदाममा थुपारेको कालो धन जेन्जी समूहका विद्रोहीले जलाउँदै गर्दाको समयमा त्यसलाई नक्कली पैसाको संज्ञा दिएर चोखिन खोज्ने पनि पुरानै नेता थिए । यिनकै अकर्मण्यताले गर्दा देश विदेशी ऋणको भासमा डुब्दै गएको छ । यता उनीहरु भने विदेश भ्रमणमा जम्बो टोलीका साथ पुग्दै गरेका हुन्थे । समग्रमा भन्ने हो भने, उनीहरुले देशको माया गरेर देशोन्नतिका लागि एउटा सिन्कोसम्म नभाँचेको अनुभूत नेपाली जनताले तीतो अनुभवका रुपमा सँगालेका छन् ।
पुराना नेतासँग देश बनाउने अनेक थरीका उपायको व्याख्या गरे तापनि कुनै ठोस दृष्टिकोण रहेको छैन भने कम्तीमा आजको परिवेशको नेपालको राजनीतिमा हाबी हुँदै गएको युवावर्गले देशको विकासको एउटा स्पष्ट चित्र मानसिक रुपमा तयार गरेरै राजनीतिमा होमिएको छ । यदि उपयुक्त वातावरण निर्माण भएर उनीहरुले सोचेअनुसारको काम विनाअवरोध गर्न पाए र तीव्र इच्छाशक्तिका साथ लागेको खण्डमा केही वर्षमा नै देशको मुहार फेरिनेछ ।
पुराना नेताले विगतमा गरेको अपराध कर्मको पोल अबका दिनमा जसरी भए पनि खुल्दै जानेछ । सबै पोल खुल्दै जाँदा उनीहरु पनि नाङ्गो हुँदै जानेवाला छन् । त्यो नाङ्गोपनाबाट कसरी जोगिएर कमाइसकेको कालो धन कसरी सुरक्षित गर्ने र जोगाउने ? भन्ने मानसिक हुटहुटीका साथ उनीहरु चुनावको बहाना बनाइरहेका छन् ।
अझै पनि आफ्नो विरुद्धमा उठेको इतर पक्षको राजनीतिक दलको प्रतिनिधि विशेषलाई जे जसरी भए पनि आफूले जित्नुपर्ने र सत्ताको साँचो आफैँले हात पार्न सक्नुपर्ने मानसिकता हाबी हुँदै गएको छ । जेन्जी समूहको कार्यवाहीमा परेका केही नेताहरुको भौतिक सम्पत्तिसमेत जलेर खरानी भइसकेपछि थोरै आर्थिक अभावको पीडाबाट पनि गुज्रनुपर्ने अवस्था बनेको छ ।
युवा पुस्ता र वृद्ध पुस्ताको आन्तरिक संघर्ष त हर्दम चलिरहेकै हुन्छ । तर आज आएर चुनावी संघर्षका विषयहरु गोचर हुने गरी छताछुल्ल हुँदै छन् । बाहिर जाबो ठानेर बेवास्ता गरेजस्तो ठानिए पनि आन्तरिक मानसमा हारिएला कि भन्ने भयले समेत सताएको हुनाले पुराना नेताले धेरै पक्षबाट गल्नुपरेको छ । यी सारा गलाइका कर्मलाई पनि चुनौती दिँदै मैले जित्छु भन्नेजस्ता आधारहीन धमास देखाउन पनि पुराना नेता खप्पिस छन् । तथापि उनीहरुले एउटा लहडको भरमा खोकेजस्तै सजिलो चुनावी मैदानको फैसलामा अवश्य हुनेछैन । अझ भाषण गर्दा नेपाललाई फलानो विकसित देशजस्तो विकसित बनाउँछु भनेर खोक्रो भाषण गरेको भरमा कुनै पनि ठोस काम हुन सक्नेछैन ।
तोकिएकै मितिमा चुनाव गराएर देखाउन सक्नु वर्तमान अन्तरिम सरकारका प्रमुख प्रधानमन्त्री सुशीला कार्कीको दायित्व हो । सरकार मात्रले नभईकन आम जनता, विदेशी सहयोगी मनका मानिसहरु आदि सबै क्षेत्रका सबै मान्छेले आ–आफ्ना क्षेत्रबाट गरेको आवश्यक सहयोगको भरमा लक्ष्य पूरा गरिने वा गराउने हो । अन्तरिम सरकारलाई पनि आम नेपाली जनता, विदेशी छिमेकी देश तथा अन्य विदेशी निकायसमेतको सहयोग र सद्भाव आवश्यक हुन्छ । त्यसैले तोकिएकै मितिमा चुनाव सम्पन्न गराउनको लागि हरेक तह र तप्काका मानिसको सद्भावपूर्ण सहयोग अपेक्षित रहन्छ ।
पुराना राजनीतिक दलका पुराना तथा वृद्ध नेतालाई पाखा लगाउने गरी निर्वाचनको माहोल बनाउँदै लैजानु पनि अन्तरिम सरकारको आजको दायित्व हो । एक प्रकारले भन्ने हो भने, हामी नेपाली शान्तिप्रिय र मिहिनेती जातिमा पर्छौं । तथापि हामीले त्यो मिहिनेत गरेर इमानदारिताका साथ गौरवमय बन्दै र संसारभरमा यही सन्देश फैलाउँदै बाँच्नु जरुरी छ । यी सबै कुरा प्राप्त गर्नको लागि वृद्ध नेता स्वयं आफैँमा आफैँ निर्भर हुन र नियन्त्रित हुन सक्दैनन् भने जनता र देशका लागि केही गर्ने क्षमतासमेत गुमनाम भएर जान सक्छ । यति मात्र होइन कि विगतको शासन सत्ताको मातले उनीहरुलाई हराइसकेको छ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको लागि गर्ने भनिएको चुनावमा आम मतदाताले सचेत भएर बूढा वा पुराना पुस्तालाई भन्दा नयाँ र युवा पुस्ताका उम्मेद्वारलाई अधिक विश्वासका साथ मतदान गरेर विजयी बनाउन खोज्नु नै जेन्जी पुस्ताको आह्वान हो । यो आह्वानमा कालो स्वार्थ लुकेको छैन । यदि कसैले स्वार्थ लुकेको ठान्छ भने त्यो भूल हो ।
पुराना पुस्ता विजयी भएर आएको खण्डमा अबको राजनीति बूढो गोरुले ओगटेको गाईजस्तै हुने अवस्था आउनेछ । आजका पुराना पुस्तालाई राजनीतिबाट किनारा लाग भनी सचेत गराउँदा उनीहरुको मानसमा क्रोध उत्पन्न हुन सक्ला । यो स्वाभाविक पनि हो । तर पुनः गत भदौ २४ गतेभन्दा पनि कठिन अवस्था सिर्जना होला अनि यो भनाइले सार्थकता पाउला ।











प्रतिक्रिया