निर्वाचन आचारसंहिताको कारण बृहत स्वास्थ्य शिविर सारियो

752
Shares

खोटाङ ।

निर्वाचन आचारसंहिताको कारण खोटाङमा तय भएको बृहत निःशुल्क स्वास्थ्य शिविरको मिति सारिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आउँदो फागुन ८ र ९ गतेको लागि तय गरेको शिविर चैत्र पहिलो हप्ताको लागि मिति सारएिको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नागरिकको स्वास्थ्य समस्यालाई प्राथमिकताामा राख्दै ओम अस्पताल काठमाण्डौंको प्राबिधिक सहयोगमा निःशुल्क शिविरको आयोजना गरेको हो । आगामी फागुन २१ गते तोकिएको संबिधानसभा सदस्य निर्वाचनको अचारसंहितालाई ध्यानमा राख्दै शिविरको मिति सार्नु परेको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

ओम अस्पतालका चिकित्सक तथा सरोकारवालासँगको छलफलपछि शिविरको मिति सारिएको नगरप्रमुख भट्टराईको भनाई छ । बृहत निःशुल्क स्वास्थ्य शिविरको लागि आवश्यक तयारी सुरु गरिएको नगपालिकाले जनाएको छ । तोकिएको मिति नजिकिएसँगै जिल्लामा चुनावी माहोल बढेको छ । यसबीचमा निर्वाचन आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन गर्न दुई जना अनुगमन अधिकृत समेत तोकिएको छ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे÷नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

खोटाङमा आगामी निर्वाचनका १ सय ३६ वटा मतदान स्थल तथा १ सय ९५ वटा मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आउँदो निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १ सय २० जना मतदाता रहेका छन् ।।