काठमाडौं ।
स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र नवीकरणीय ऊर्जामा लगानी वृद्धि गर्दै खनिज इन्धनमा निर्भरता तथा प्रयोग घटाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा आयोजित ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास’ विषयक राष्ट्रिय सम्मेलनमा विषयलाई जोड दिइएको हो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जनवरी २६ लाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका रूपमा मनाउने गरिएको छ । सोही अवसरमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिल कुमार सिन्हाले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमहरूले दुर्गम क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै सरकारले अवलम्बन गरेको न्यून कार्बन विकास मार्गचित्र अनुसार सन् २०४५ सम्म खुद शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न यस्ता कार्यक्रम निर्णायक हुने बताउनुभयो ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक स्वीकृत भएपछि यस क्षेत्रका लागि बलियो कानुनी र नियामक संरचना निर्माण हुने पनि उहाँको भनाइ थियो ।त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको महत्व उल्लेख गर्दै नेपालको कूल ऊर्जा खपतमा अझै पनि ६० प्रतिशतभन्दा बढी परम्परागत ऊर्जाको हिस्सा रहेकाले हरित अर्थतन्त्रतर्फ फड्को मार्न यस क्षेत्रमा थप लगानी र नीतिगत प्राथमिकता आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुनीति श्रेष्ठ हाडाले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतामार्फत जलवायु परिवर्तन न्यूनीकरणमा नेपालले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र नवीकरणीय ऊर्जामा लगानी बढाएर खनिज इन्धनमा निर्भरता घटाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले हालै स्वीकृत ‘कार्बन व्यापार नियमावली, २०८२’ ले कार्बन व्यापार सञ्चालनका लागि कानुनी आधार तय गरेको र थप कार्बन आयोजना विकासका लागि मार्ग प्रशस्त गरेको बताउनुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रका उपलब्धि, न्यूनकार्बनीकरणमा योगदान र आगामी मार्गचित्र प्रस्तुत गर्दै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामार्फत घरायसी, औद्योगिक, व्यावसायिक, यातायात र कृषि क्षेत्रमा डिकार्बनाइजेसनमा केन्द्रले योगदान पु¥याउँदै आएको बताउनुभयो ।
युरोपियन युनियनका लागि नेपाली राजदूत भेरोनिक लरेन्जोले दिगो विकास लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जामा लगानी बढाउनुपर्नेमा जोड दिँदै दिगो ऊर्जा च्यालेञ्ज फण्ड मार्फत सञ्चालन भएका कार्यक्रमहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्मेलनमा विज्ञ, नीति निर्माता, विकास साझेदार, निजी क्षेत्र, अनुसन्धान संस्था, लगानीकर्ता र सञ्चारकर्मीको सहभागिता रहेको थियो । तीन वटा प्राविधिक सत्र सञ्चालन गरिएका थिए, जसमा स्वच्छ ऊर्जा र कार्बन बजारमार्फत न्यूनकार्बनीकरण, ऊर्जा दक्षतामार्फत न्यूनकार्बनीकरण, स्वच्छ ऊर्जा र विद्युतीय सवारी (ई–मोबिलिटी) मा लगानी थिए ।
उक्त सत्रमार्फत न्यून कार्बनीकरणका अवसर, चुनौती, लगानी संयन्त्र र साझेदारी का विषयमा गहन छलफल गरिएको थियो । वैकपल्पक ऊर्जा प्रवद्र्धन केन्द्रले सन् २००५ देखि कार्बन व्यापार सुरु गरेको र हालसम्म ६६ लाख ८० हजार मेट्रिक टन कार्बन उत्सर्जन न्यूनीकरण गरी करिब ३६ मिलियन अमेरिकी डलर आम्दानी गरेको जनाएको छ ।











प्रतिक्रिया