काठमाडौं ।
निजी स्वास्थ्य संस्थाहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (एफिन) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूलाई स्वास्थ्य क्षेत्रसम्बन्धी कार्यक्रमहरूलाई चुनावी घोषणापत्रमा समावेश गर्न अनुरोध गरेको छ ।
एफिनका अध्यक्ष डा. पदम बहादुर खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा हालका दिनमा विभिन्न राजनीतिक दलहरूले नागरिकसँग भोट माग्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको तर स्वास्थ्य क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको गुनासो गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “३५ वर्षअघिदेखि देशको आर्थिक अवस्था र साक्षरता प्रतिशत बढ्दा पनि नागरिकको स्वास्थ्य सेवा पहुँचमा सुधार हुन सकेको छैन । निर्वाचनमा लोकप्रियता बढाउन मात्रै कार्यक्रमहरू ल्याउने तर स्वास्थ्य जस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक नलिने प्रवृत्तिले नागरिकलाई ठूलो क्षति पु¥याइरहेको छ ।”
एफिनले सबै राजनीतिक दलहरूलाई निर्वाचनमा स्वास्थ्य क्षेत्रमा ठोस तथा दीर्घकालीन कार्यक्रमहरू समावेश गर्न आग्रह गरेको छ । यसमा देशभरि ठूला लगानीमा स्थापना भएका मेडिकल कलेज तथा अस्पतालहरूलाई सहभागी गराई उनीहरूलाई समेत सक्षम बनाउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
विज्ञप्तिमा थप भनिएको छ, “देशमा वार्षिक ३५ लाख बढी व्यक्तिहरूको उपचार सेवामा संलग्न ठूला राजस्व योगदान गर्ने निजी स्वास्थ्य संस्थाहरू रोजगारीसमेत प्रदान गर्ने राष्ट्रको महत्वपूर्ण सेवा क्षेत्र हुन् । यी संस्थाहरूलाई प्राथमिकतामा राखी प्रशासनिक तथा कानुनी बन्देजहरू हटाउने, नीतिगत सुधार गर्ने तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा नयाँ कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ ।”
संगठनले स्वदेशी स्वास्थ्य व्यवसायी तथा विदेशी लगानीलाई आकर्षित गरी स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यक्रमहरू घोषणापत्रमा समावेश गर्नुपर्नेमा जोड दिएको छ । “स्वास्थ्य क्षेत्रमा ठूलो राजस्व योगदान गर्ने निजी स्वास्थ्य संस्थाहरूलाई बन्द गर्नुपर्ने अवस्था रोक्ने, उनीहरूलाई प्रोत्साहन दिने नीति ल्याउनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ ।
एफिनले सबै राजनीतिक दलहरूलाई स्वास्थ्य क्षेत्रलाई गम्भीरतापूर्वक लिएर चुनावी घोषणापत्रमा समावेश गर्न र नागरिकको स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउने प्रतिबद्धता जनाउन आग्रह गरेको छ ।











प्रतिक्रिया