पर्यटनको नाममा बिमा माफिया: करोडौं डलर ठगीको पर्दाफास

फेक रेस्क्यु काण्डमा ६ ट्राभल कम्पनी सञ्चालक पक्राउ


काठमाडौं।

नेपालको पर्वतीय पर्यटन, उद्धार प्रणाली र अन्तर्राष्ट्रिय बिमा क्षेत्रलाई बदनाम बनाउने गम्भीर प्रकृतिको फेक रेस्क्यु काण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठूला ट्राभल कम्पनीका सञ्चालकहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पर्यटकको ज्यान जोगाउने नाममा नक्कली उद्धार कागजात बनाएर करोडौं अमेरिकी डलर बराबरको बिमा ठगी गरिएको खुलासा भएपछि यो प्रकरणले पर्यटन उद्योगभित्र गहिरोसम्म जरा गाडेको आपराधिक संरचना उजागर गरेको छ ।

सीआईबीले माउन्टेन रेस्क्यु सर्भिस प्रालि, नेपाल चार्टर सर्भिस प्रालि र एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालि नामक तीन कम्पनीमार्फत योजनाबद्ध रूपमा फेक रेस्क्यु गरिएको निष्कर्ष सार्वजनिक गरेको हो । सीआईबीका अनुसार अदालतबाट पक्राउ अनुमति लिएर आइतबार जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरिएको हो । पक्राउ परेका माथि राष्ट्र हितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणअन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

पक्राउ परेकामध्ये जयराम रिमाल माउन्टेन रेस्क्यु सर्भिसका अध्यक्ष र विवेक पाण्डे प्रबन्धक, रवीन्द्र अधिकारी नेपाल चार्टर सर्भिसका अध्यक्ष तथा विवेकराज थपलिया अपरेसन म्यानेजर, मुक्ति पाण्डे एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्सका प्रबन्ध निर्देशक र सुभाष केसी सञ्चालक रहेका छन् । सीआईबी प्रमुख तथा अतिरिक्त महानिरीक्षक डा. मनोज केसीले तीन कम्पनी मिलेर लामो समयदेखि फेक रेस्क्युको नेटवर्क चलाइरहेको अनुसन्धानबाट पुष्टि भएको जानकारी दिनुभयो ।

अनुसन्धानअनुसार माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १ हजार २ सय ४८ जनाको रेस्क्यु देखाएकोमा १ सय ७१ जनाको फेक रेस्क्यु गरिएको पाइएको छ । एआईजी केसीका अनुसार उक्त कम्पनीले मात्रै १ करोडभन्दा बढी अमेरिकी डलर बराबरको बिमा दाबी गरेको प्रमाण फेला परेको छ ।

त्यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४ सय ७१ जनाको रेस्क्यु देखाउँदा ७५ जनाको फेक रेस्क्यु गरेको खुलेको छ । सो कम्पनीले ८२ लाख अमेरिकी डलर बराबरको बिमा रकम माग दाबी गरेको सीआईबीले जनाएको छ ।

एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६ सय १ जनाको रेस्क्युमध्ये ७१ जनाको फेक रेस्क्यु गरेको पुष्टि भएको छ । यसमार्फत कम्पनीले ११ लाख ५३ हजार अमेरिकी डलर बिमा रकम दाबी गरेको अनुसन्धानमा देखिएको छ ।

लुक्ला केन्द्रित फेक रेस्क्यु

सीआईबीका अनुसार अधिकांश फेक रेस्क्यु लुक्ला क्षेत्रबाट गरिएको पाइएको छ । एआईजी केसीले २ हजारभन्दा बढी रेस्क्यु घटनाको विवरण अध्ययन गर्दा एउटै ढाँचा, एउटै समयावधि र एउटै प्रकृतिका कागजात प्रयोग भएको पाइएको बताउनुभयो ।

उहाँका अनुसार बिरामीको अवस्था गम्भीर नदेखिएको, हिँडेर जानसक्ने अवस्थामा रहेका पर्यटकलाई समेत हेलिकोप्टरमार्फत उद्धार देखाएर बिमा कम्पनीमा दाबी गरिएको थियो । कतिपय अवस्थामा पर्यटकलाई नै जानकारी नदिई उनीहरूको नाममा फेक कागजात बनाइएको आशंका पनि गरिएको छ ।

यो प्रकरणले नेपालको हेलिकोप्टर रेस्क्यु प्रणाली, ट्राभल कम्पनीको नियमन, बिमा कम्पनीको भेरिफिकेसन प्रक्रिया र सरकारी निकायको निगरानी क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । उद्धारजस्तो संवेदनशील सेवामा व्यावसायिक लोभ हाबी हुँदा पर्यटक सुरक्षामाथि नै खतरा पैदा भएको विज्ञहरू बताउँछन् ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार फेक रेस्क्युका कारण अन्तर्राष्ट्रिय बिमा कम्पनीहरूले नेपाललाई उच्च जोखिमयुक्त गन्तव्यको सूचीमा राख्न थालेका छन् । जसको दीर्घकालीन असर सम्पूर्ण पर्यटन उद्योगमा पर्न सक्ने खतरा छ ।

सीआईबीले हाल पक्राउ परेकामै अनुसन्धान सीमित नरहने स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय बिमा कम्पनी, हेलिकोप्टर सेवा प्रदायक, ट्रेकिङ एजेन्सी र केही कर्मचारीबीचको साँठगाँठबारे पनि अनुसन्धान अगाडि बढाइएको केसीले जानकारी दिनुभयो । सीआईबी स्रोतका अनुसार यो प्रकरणमा अझै ठूला नाम, थप कम्पनी र अन्तरदेशीय आर्थिक लेनदेनसमेत बाहिरिन सक्ने संकेत देखिएको छ ।

पर्यटनबाट समृद्धि खोजिरहेको नेपालका लागि फेक रेस्क्यु काण्ड केवल आपराधिक घटनामात्र होइन, प्रणालीगत विफलताको गम्भीर चेतावनी हो । अबको चुनौती दोषीमाथि कडा कारबाही गर्दै उद्धार र पर्यटन व्यवस्थापनमा विश्वसनीयता पुनःस्थापना गर्नु नै हुनेछ ।