बसन्त पञ्चमीमा काठमाडौं उपत्यकाका सरस्वती मन्दिरहरूमा भक्तजनको भीड


काठमाडौं ।

ज्ञान, विद्या र कलाकी देवी सरस्वतीको पूजा गर्ने पर्व बसन्त पञ्चमी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस अवसरमा काठमाडौं उपत्यकाका विभिन्न सरस्वती मन्दिरहरूमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड देखिएको छ।

काठमाडौंका नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधारास्थित नील सरस्वती तथा ललितपुरको लेले लगायतका क्षेत्रमा रहेका सरस्वती मन्दिरहरूमा विशेष पूजा–अर्चना भइरहेको छ। यस्तै, नेपालभरिका सरस्वती मन्दिर र विद्यालय तथा शैक्षिक संस्थाहरूमा पनि सरस्वती पूजाका कार्यक्रम आयोजना गरिएका छन्।

पशुपतिनाथ क्षेत्रमा स्थापित सरस्वतीको मूर्तिलाई बौद्धमार्गीहरूले मञ्जुश्रीका रूपमा समेत पूजा गर्ने परम्परा रहँदै आएको छ। त्यस मूर्तिमा आज विशेष पूजा–अर्चना गरिएको छ। नेपाली समाजमा सरस्वती पूजा केवल धार्मिक आस्थासँग मात्र सीमित नरही विद्या, ज्ञान र बौद्धिक चेतनासँग जोडिएको सांस्कृतिक परम्पराका रूपमा स्थापित छ।

नेपालभरिका धेरै सरकारी तथा निजी विद्यालय परिसरमा साना–ठूला सरस्वती मन्दिरहरू रहेका छन्, जहाँ विद्यार्थीहरूले कलम, किताब र कापी चढाएर विद्यादेवीको आराधना गर्ने गर्दछन्। धर्म वा विश्वास फरक–फरक भए पनि विद्या र ज्ञानको प्रतीकका रूपमा सरस्वती देवीप्रति श्रद्धा व्यक्त गर्नु नेपाली समाजको साझा संस्कार बनेको जानकारहरू बताउँछन्। बसन्त पञ्चमीलाई नयाँ सिकाइ, अध्ययन र सृजनशीलताको सुरुवात गर्ने दिनका रूपमा समेत लिइन्छ।