सिन्धुली।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता सिन्धुलीमा आज उत्साहजनक रुपमा सम्पन्न भएको छ । निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलहरुले बाजागाजा बजाउँदै तामझामसहित उम्मेदवारी दर्ता गराएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीको निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्रसहित १२ जना र निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्रसहित १६ जना गरी २८ जनाको उम्मेदवारी दर्ता भएको छ । सिन्धुलीको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट डेकेन्द्र प्रसाद सुवेदी, नेकपा एमालेबाट प्रदीप कुमार कटुवाल, नेपाली कांग्रेसबाट उज्वल प्रसाद बराल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनेन्द्र कार्कीले उम्मेदवारी दिएका छन् ।
नेपाल मजदुर किसान पार्टीबाट राजेन्द्र बखुन्छे, मंगोल नेशनल अर्गनाईजेसनबाट सोम बहादुर घलान, श्रम संस्कृति पार्टीबाट निम बहादुर मोक्तानले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय परिवर्तन पार्टीबाट सन्तोष कुमार सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राम नारायण अधिकारी, नेकपा माक्सवादीबाट सुशील हमाल, उज्यालो नेपाल पार्टीबाट मोतीलाल तामाङ, र स्वतन्त्र अमृत बहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गरेको क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ दाहाल (राजन), नेपाली काँग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट मनोजजंग थापाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. २ मा केही बागी उम्मेदवारी पनि परेको छ । बागी उम्मेदवारका रुपमा नेकपा एमालेबाट सरोज विकको उम्मेदवारी परेको छ भने नेपाली काँग्रेसबाट बागी उम्मेदवारमा खड्ग बहादुर वाइबाले उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट बागी उम्मेदवारमा महेश्वर दाहालले मनोनयन गरेका छन् ।
मंगोल नेशनल अर्गनाईजेसनबाट शान्त विर लामा, नेपाल मजदुर किसान पार्टीबाट रामेश्वरी कोजु, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) बाट आसिस गजुरेलले उम्मेदवारी दिएका छन् । श्रम संस्कृति पार्टीबाट इन्द्र बहादुर वि.क, मितेरी पार्टी नेपालबाट राजन अछामी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मुकुन्द प्रसाद गजुरेल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट निर्मल कुमार स्याङतान, स्वतन्त्र नरहरी पौडेलले उम्मेदवारी दिएका छन् ।
नेकपा (माओवादी) बाट वत्र्य बहादुर राईले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा माधव प्रसाद न्यौपानेको मनोनयन परेको छ । सिन्धुलीमा शान्तिपूर्ण वातावरणमा मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको दुवै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरूले बताएका छन् ।











प्रतिक्रिया