आगामी माघ १६ गते रिलिजमा आउने फिल्म आबाट आमामा समावेश जाँदैछु नौ डाँडा काटेर बोलको गीत माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको छ।
गीतको भावले परदेशिन लागेको विषय प्रस्ट्याएको छ। गीतको भिडियोमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायतलाई प्रस्तुत गरिएको छ। गीत किरण परियारले गाएका छन् भने अभि सुनारको शब्द रचना र संगीत तथा विशाल निरौलाको एरेन्जमेन्ट रहेको छ।
गीतले युट्युबमा दुई दिनमै २३ लाखभन्दा बढी भ्युज पाएको छ। गीत ७६ हजारले मन पराएका छन् भने २३ सय बढीले प्रतिक्रिया दिएका छन्। कमेन्टकर्ताहरूले गीतले भावुक बनाएको प्रतिक्रिया दिंदै कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँबर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाद्वारा निर्मित फिल्ममा विपना थापा र पल शाहका साथमा प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायतका कलाकारले अभिनय गरेका छन्। चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा कथा र पटकथा पनि उनकै रहेको छ भने संवाद अभिमन्यू निरवी, अमर न्यौपाने र चन्द्र पन्त, संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम, गायन रवि ओड, किरण परियार र नेपाली भर्सनमा यमन श्रेष्ठको स्वर, कोरियोग्राफी गंभीर विष्ट र दिलीप ओखेडा, छाया“कन निर्देशन नवराज उप्रेती र सम्पादन मिलन श्रेष्ठको रहेको छ।
यसअघि फिल्ममा समावेश गीत लैजा खबर ए हावा सार्वजनिक गरिएको थियो। यसको नेपाली भर्सन रुचाइएपछि निर्माण पक्षले नेवारी भर्सनमा समेत रिलिज गरेको छ। ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको ट्रान्सलेटमा उनका छोरा यमन श्रेष्ठले नेवारी गीत गाएका हुन्।











प्रतिक्रिया