कन्ट्याक्ट लेन्स प्रयोग गरी क्यासिनोमा जुवा ठगी: ४ भारतीय नागरिक पुर्पक्षका लागि कारागार, अन्य धरौटीमा रिहा


काठमाडौँ।

काठमाडौं महानगरपालिका २६ ठमेलस्थित छायाँ सेन्टरमा रहेको वाल्डो डाइनस्टी इन्टरटेन्मेन्ट प्रा. लि. क्यासिनोमा आँखामा लगाउने Eye Lens प्रयोग गरी तास स्पष्ट देख्ने माध्यमबाट जुवा खेली ठगीजन्य कार्य गरेको अभियोगमा पक्राउ परेका व्यक्तिहरूमध्ये चार जना भारतीय नागरिकलाई पुर्पक्षका लागि कारागार पठाइएको छ।

उक्त घटनामा संलग्न ७ जनालाई Eye Lens, तास, नगद रकम, मोबाइल फोन, राहदानी, एटीएम कार्ड लगायतका सामग्रीसहित पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेकोमा बुधबारको अदालतको आदेशअनुसार पक्राउ परेकामध्ये चार जना भारतीय नागरिकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

पुर्पक्षका लागि कारागार पठाइनेमा भारत उत्तर पश्चिम दिल्ली, रोहिणी सेक्टर–१७ स्थायी ठेगाना भएका ५७ वर्षीय सुरेश महाजन, भारत उत्तराखण्ड राज्य देहरादून विकासनगरका ३९ वर्षीय प्रमोद मौर्य, ३२ वर्षीय विक्रम सिंह तथा भारत हरियाना प्रदेश कर्नाल जिल्ला निलोखेरीका ३७ वर्षीय दिनेश वर्मा रहेका छन्।

यस्तै, सुनसरीको रामधुनी नगरपालिका–८ स्थायी ठेगाना भएकी ३५ वर्षीया चिजा खड्का र काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने ४० वर्षीया भवानी पाण्डेले १ /१ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्।

घटनामा संलग्न भनिएका चिनियाँ नागरिक तथा क्यासिनो सञ्चालक ७५ वर्षीय चान म्यान चिङलाई भने ५ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले क्यासिनोमा प्रविधिको दुरुपयोग गरी ठगी गर्ने कार्यलाई गम्भीर अपराध मान्दै थप अनुसन्धान जारी रहेको जनाएको छ।