–विश्वविद्यालय शासन संरचनामा ठूलो फेरबदल प्रस्ताव
–१५ सदस्यीय संरक्षक परिषद् सर्वोच्च निकाय
–प्रधानमन्त्रीको सट्टा स्वतन्त्र विज्ञलाई कुलपति बनाउने मोडल
–मन्त्रिपरिषद्मा विधेयक पेस गर्ने अन्तिम तयारी
–उपकुलपतिहरूको मिश्रित प्रतिक्रिया, कानुनी र राजनीतिक पेचिलोपन
काठमाडौं ।
सरकारले विश्वविद्यालयको शासन प्रणालीमा आमूल परिवर्तन गर्ने उद्देश्यसहित प्रधानमन्त्री कुलपति हुने परम्परागत व्यवस्था अन्त्य गर्ने प्रस्ताव अघि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय स्थापना तथा सञ्चालनका आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयकको मस्यौदा तयार गरी प्रधानमन्त्रीलाई कुलपतिको भूमिकाबाट हटाई संरक्षक परिषद्मार्फत स्वतन्त्र विज्ञलाई कुलपति बनाउने व्यवस्था अघि बढाएको हो ।
राष्ट्रपतिलाई कुलपति बनाउने बहस चलिरहेकै बेला शिक्षामन्त्री महावीर पुनले तयार पार्नुभएको मस्यौदाले सो विकल्पलाई छाड्दै पूर्णतः स्वतन्त्र विज्ञलाई कुलपति नियुक्त गर्ने नयाँ संरचना प्रस्ताव गरेको छ । मन्त्री पुनले विधेयकको मस्यौदा आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने तयारी गर्नुभएको छ ।
प्रस्तावित मस्यौदाअनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा १५ सदस्यीय संरक्षक परिषद् रहनेछ । यस परिषद्बाटै कुलपति छनोट गरिने व्यवस्था गरिएको छ । यसअघि सञ्चालक परिषद् भनिँदै आएको संरचना अब संरक्षक परिषद्मा रूपान्तरण गरिएको हो । परिषद्मा उपकुलपति, शिक्षा मन्त्रालयका सचिव, विश्वविद्यालय अनुदान आयोगका सचिव, शिक्षा तथा समाजसेवामा योगदान दिएका विशिष्ट व्यक्तित्व, विश्वविद्यालयका सहयोगदाता, विभिन्न पेसा व्यवसायका अनुभवी व्यक्तिहरू तथा अलमुनाई प्रतिनिधिहरू रहनेछन् । महिला सहभागितालाई अनिवार्य गरिएको छ ।
तर, पहिलोपटक भने मन्त्रालयले संरक्षक परिषद्मार्फत कुलपति नियुक्त गर्नेछ । विश्वविद्यालयको संगठनात्मक संरचनामा संरक्षक परिषद्, प्राज्ञिक परिषद्, कार्यकारी परिषद् तथा अध्ययन संस्थान, संकाय वा स्कुल रहने व्यवस्था गरिएको छ । हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरू भने प्रचलित कानुनअनुसार नै सञ्चालन हुने स्पष्ट गरिएको छ ।
संरक्षक परिषद्का सदस्य हुन कम्तीमा ३५ वर्ष उमेर पूरा गरेको, मान्यताप्राप्त संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । परिषद् सदस्य सिफारिसका लागि पूर्वउपकुलपतिको संयोजकत्वमा सिफारिस समिति गठन गरिनेछ । समितिले ६० दिनभित्र नाम सिफारिस गर्नुपर्ने र सदस्यको पदावधि चार वर्ष रहने व्यवस्था मस्यौदामा छ ।
संरक्षक परिषद्ले विश्वविद्यालयको नीति, योजना, बजेट, शैक्षिक कार्यक्रम, उपाधि प्रदान, नयाँ क्याम्पस वा अनुसन्धान केन्द्र स्थापना, गुणस्तर संरक्षणलगायतका महत्वपूर्ण अधिकार प्रयोग गर्नेछ । परिषद्को बैठक कम्तीमा वर्षमा दुई पटक बस्ने र भर्चुअल माध्यमबाट समेत सहभागिता हुन सक्ने उल्लेख छ ।
तर, यो मस्यौदा तत्काल पारित हुने अवस्था भने छैन । सरकारले निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरिरहेको अवस्थामा नयाँ ऐन ल्याउन संवैधानिक र राजनीतिक जटिलता देखिन्छ । अध्यादेशमार्फत ल्याउन सकिने भए पनि कानुन तथा अर्थ मन्त्रालयको राय आवश्यक पर्नेछ । साथै, यति संवेदनशील विषयमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सहज रूपमा प्रमाणीकरण हुनेमा पनि प्रश्न उठाइएको छ ।
अधिकांश विश्वविद्यालयका उपकुलपतिहरूले यो प्रस्तावप्रति पूर्ण समर्थन जनाएका छैनन् । ऐन पारित भए विश्वविद्यालय अनुदान आयोग अझ शक्तिशाली हुने र सरकार–विश्वविद्यालय सम्बन्ध कमजोर हुने चिन्ता व्यक्त गरिएको छ । यद्यपि मन्त्रालयले लामो छलफलपछि ल्याएको मस्यौदालाई उपकुलपतिहरूले बाह्य रूपमा भने समर्थन गरेको देखिन्छ ।











प्रतिक्रिया