समृद्ध नेपाल : सुशासन र नागरिक व्यावसायिकता अनिवार्य सर्त

1.69k
Shares

बाजुरा । मुलुक समृद्ध बनाउन सुशासन पहिलो सर्त हो । सुशासनले मात्र नागरिकमा व्यावसायिकता ल्याउँछ । अस्थिर राज्य प्रणालीले न त देशमा सुशासन कायम गर्छ, न नागरिकलाई व्यावसायिक बनाउँछ । यसले त केवल मागी खाने सरकार र पलायनवादी नागरिक सोचको विकास गर्छ । हामीले पढेको इतिहास र देखेभोगेको राज्यसत्ताबाट नागरिक सन्तुष्टि भएन भन्ने मात्र बुझ्यौं । जहिल्यै भएन, गरेन, सकेन, मासियो, लुटियो, खायो, सकियो भन्नेबाहेक सकारात्मक सृजनशीलताका सवाल उठान विरलै भए ।

यहाँ को नेता, को जनता, को कर्मचारी, को पत्रकार, को उद्यमी, को शिक्षक÷प्राध्यापक, को किसान्÷मजदुर हो ? कसको भूमिका के हो ? कसको काम के हो ? यहाँ त सबै नेता नागरिक, सबै नागरिक नेता भनेजस्तै को कुन भूमिकामा छ ? छुट्याउन सक्ने अवस्था रहेन । अर्थात् अधिकारको खोजी त भयो तर मेरो कर्तव्य के हो, मेरो पहिलो दायित्व के हो ? भन्नेमा हामी गएनौं । मैले गरेको सबै ठीक, अरुले गरेको सबै बेठीक भन्नेमा गयौं । फलतः त्यसको प्रतिफल पुर्खाले परिकल्पना गरेको सुन्दर शान्त विशाल देश निर्माण गर्न सकेनौंं ।

मैले एकपटक रेडियो पौरखी एफएम बाजुराबाट कार्यक्रम समयचक्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हामी नेपालीले जहिल्यै राजनीतिक लडाइँ मात्र लडिरहने ? देशले लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्यो, आर्थिक–सामाजिक समृद्धिको सवाल कहिले सम्बोधन हुन्छन् ? भनेर सोधेको थिएं । त्यसको सटिक र सान्दर्भिक जवाफमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले भन्नुभएको थियो– ‘देशका हरेक भूगोलमा वातावरण सुहाउँदो व्यवसाय सञ्चालन गर्न सकिन्छ । नागरिक व्यावसायिकताका तमाम आधारहरु हाम्रो भूगोलमा छन् । मात्र हाम्रो देशमा स्थायी सरकार, मध्यावधि हैन, आवधिक निर्वाचन, सुशासन र राजनीतिक दूरदर्शिता छैन । उक्त कुरा देशका लागि अहिलेको पहिलो आवश्यकता हो ।’ यतिखेर पनि उहाँको यो कथन स्मरणयोग्य रहेको छ ।

हो, हामीले सोचेको र परिकल्पना गरेको सुन्दर देश निर्माण गर्न बाधक भनेकै देशको सुशासन र प्रत्यक नागरिक व्यावसायिक बनाउन नसक्नु हो । आजसम्म हामी गफैगफको हुल्लडमा रुमलिएका छौं । सामान्यतया जुन घरमा भोलिका लागि आज सल्लाह हुन्छ, त्यो घरका सदस्य कर्तव्यपालनका साथ बिहानै आ–आफ्नो काममा लाग्छन्, त्यो घरबार राम्रो बन्दै जान्छ । जुन घरमा बेलुकीपख कोही दिउँसैै घर आउँछन् । कोही साँझ, कोही मध्यरातमा खुट्टा लडबडाउँदै आउँछन् अनि भोलिपल्ट बिहानै घरमा कचकच शुरु हुन्छ । यो पुगेन, ऊ पुगेन भनेर कराउने कामबाहेक केही हुँदैन । त्यसैले ‘हुने घरको बासा सल्लाह, नहुने घरको छकाल्या सल्लाह भनिन्छ ।’ हो, हाम्रो देशमा गतिछाडा छकाल्या सल्लाह हुन्छ र मतिभ्रष्ट भएको हो ।

अब मुख चलाएर मात्र देश बन्दैन भन्ने हामी सबैले बुझिसकेका छौं । जति बेला हाम्रा मुख बन्द थिए, त्यसका विरुद्ध लडेर जेलनेल भोगी हजारौं शहीद भए । त्यसले मुख खोल्ने शासन पद्धति ल्याइसक्यो । अबको नयाँ नेपाल बनाउने नै हो भने त हात–पाखुरा खियाउने (बजार्ने) पद्धतिको विकास गर्न आवश्यक छ । देशी–विदेशीहरु भन्छन्– नेपाल देश स्वर्गको टुक्रा हो, वीर पुर्खाको सुन्दर शान्त देश हो । यहाँ सुनका थाली छन् ।

तर नजानेर नेपालीहरु कागजका चुहिने टपरी बोकेर भिख मागिरहेका छन् । हो, भएका भौतिक संरचना ध्वस्त गर्ने, खेतबारी बाँझो राख्ने, व्यावसायिक उद्योग व्यवसाय जलाएर खरानी बनाउने, दम्भ र हुङ्कारी शासक आफू हेलिकोप्टर चढेर ज्यान बचाउने अनि त्यही खरानीको फोस्रोमा टेकेर होली खेल्ने । विडम्बना ! अनि हामी भोका–नाङ्गा भयौं भनेर विदेशीसँग हात थाप्ने । यस्तो राज्यक्रान्तिले कहिल्यै समृद्धि आउँदैन । अब हामीले अवसरको खोजी हैन, प्रत्येक नागरिकले व्यवसायको सृजना गर्न सक्नुपर्छ ।

हो, हाम्रो देश नेपाल आज आर्थिक रूपान्तरण, सामाजिक न्याय र दिगो विकासको सङ्क्रमणकालमा उभिएको छ । प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र युवा जनशक्ति हुँदाहुँदै पनि अपेक्षित समृद्धि हासिल गर्न नसक्नुको मूल कारण सुशासनको कमजोरी र नागरिकमा व्यावसायिक सोचको अभाव हो । यदि राज्यमा सुशासन स्थापना हुन्छ र नागरिक व्यावसायिक, जिम्मेवार र उद्यमशील बन्छन् भने नेपाललाई समृद्ध बनाउन नेपालीले नै हातेमालो गर्नुपर्छ । भनिन्छ, दिएर आफ्नो खौरेर चिल्लो कहिल्यै हुँदैन । त्यसले परनिर्भता मात्र बढाउँछ । नेपालीलाई दिन–प्रतिदिन खोक्र्याउँछ मात्र ।

भनिन्छ. सुशासन विकासको मेरुदण्ड हो । सुशासन भनेको केवल भ्रष्टाचार नहुनु मात्र होइन, यो कानुनको शासन, पारदर्शिता, जवाफदेहिता उत्तरदायित्व, सहभागिता र प्रभावकारी सेवा प्रवाहको समष्टि हो । नेपालमा विकास योजनाहरू असफल हुनुको मुख्य कारण नीति निर्माण र कार्यान्वयनमा सुशासन कमजोर हुनु हो । देशमा सुशासन भएमा सार्वजनिक स्रोतको सदुपयोग हुन्छ, लगानीमैत्री वातावरण बन्छ, सेवा प्रवाह छरितो र प्रभावकारी हुन्छ अनि जनविश्वास बढ्छ । जब शासन प्रणाली पारदर्शी र जवाफदेही हुन्छ, तब राज्य नागरिकको भरोसायोग्य साझेदार बन्छ, जुन समृद्धिको पहिलो सर्त हो ।
भनिन्छ, व्यावसायिक नागरिक आत्मनिर्भर अर्थतन्त्रको आधार हो । व्यावसायिक नागरिक भनेको केवल व्यापारी मात्र होइन,

कामप्रति इमानदार, समयपालक, सीपयुक्त, उद्यमशील र नवप्रवर्तनशील सोच भएका नागरिक हुन् । नेपालमा अझै पनि ‘जागिरमुखी’ मानसिकता हाबी छ, जबकि समृद्ध राष्ट्रका नागरिक ‘उद्यममुखी’ हुन्छन् । व्यावसायिक नागरिकको भूमिका भनेको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, रोजगारी सिर्जना गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नु अनि कर प्रणालीलाई बलियो बनाउनु हो । यसका लागि स्थानीय स्रोत र सीपको अधिकतम उपयोग गर्न सक्नुपर्छ । राज्यले उचित वातावरण दिनुपर्छ । जब नागरिक आफैं उद्यमशील बन्छन्, राज्यको बोझ घट्छ र अर्थतन्त्र चलायमान हुन्छ ।

सुशासन र व्यावसायिकताबीचको अन्तरसम्बन्ध छ । सुशासनविना व्यवसाय फस्टाउँदैन र व्यावसायिक नागरिकविना सुशासन अर्थपूर्ण हुँदैन । सुशासनले व्यवसाय गर्न सहज वातावरण बनाउँछ । व्यावसायिक नागरिकले राज्यलाई कर, रोजगारी र स्थायित्व गर्छ । यो दुई पाङ्ग्रे रथजस्तै हो, एउटा कमजोर भए समृद्धिको यात्रै अघि बढ्दैन ।

नरामा मात्र हैन, साँच्चीकै समृद्ध नेपाल बनाउने हो भने राज्यले सरकार नागरिकको शासक हैन, सहयोगी अभिभावक बन्नुपर्छ । आवश्यक कदमहरु चाल्न ढिलो भइसकेको छ । तसर्थ समृद्ध नेपाल निर्माणका लागि यी आधारहरू अपरिहार्य छ– शासनमा सुधार, भ्रष्टाचारमुक्त प्रशासन, डिजिटल सेवा र ई–शासन । स्थानीय सरकारलाई सक्षम बनाउन नीतिगत कार्यान्वयन हुनुपर्छ । त्यस्तै नागरिकमा व्यावसायिक चेतना दिन पनि उत्तिकै आवश्यक छ । यसै गरी उद्यमशील शिक्षा हुनुपर्छ । विद्यालय तहदेखि सीपमूलक तथा प्राविधिक तालिम हुनुपर्छ । युवालाई सहुलीयतपूर्ण ऋण, बजार पहुँच कृषिलाई व्यवसायीकरण, राज्य–नागरिक सहकार्य, नीति निर्माणमा निजी क्षेत्रको सहभागिता पनि उत्तिकै आवश्यक छ । सार्वजनिक–निजी साझेदारी, नागरिक कर्तव्य र जिम्मेवारीबारे जागरण हुनुपर्छ ।

समृद्ध नेपाल कुनै सपना मात्र होइन, यो सुशासन र व्यावसायिक नागरिकको संयुक्त यात्राबाट प्राप्त गर्न सकिने यथार्थ लक्ष्य हो । राज्यले सुशासनको ग्यारेन्टी दिनुपर्छ भने नागरिकले व्यावसायिक सोच, इमानदारिता र परिश्रम प्रस्तुत गर्नुपर्छ । जब शासन जिम्मेवार र नागरिक आत्मनिर्भर हुन्छन्, तब नेपाललाई समृद्ध बन्नबाट कसैले रोक्न सक्दैन । समृद्धि आयात हुँदैन, यो सुशासन र व्यावसायिक नागरिकको पसिनाबाट उत्पादन हुन्छ ।

नेपालको मुख्य आर्थिक समस्या बेरोजगारी होइन, उत्पादक स्वरोजगारको अभाव हो । प्राकृतिक स्रोत, युवा जनशक्ति र स्थानीय सीप हुँदाहुँदै पनि रोजगारी सिर्जना हुन नसक्नु राज्य, समाज र नागरिक तीनै पक्षको कमजोरी हो । यदि प्रत्येक नागरिकलाई स्वरोजगारतर्फ उन्मुख गराउने नीति र व्यवहार अपनाइयो भने नेपाल आत्मनिर्भर मात्र होइन, समृद्ध राष्ट्र बन्न सक्छ ।

व्यावसायिक कृषि तथा कृषिमा आधारित उद्योग सञ्चालन हुनुपर्छ । तरकारी, फलफूल र नगदे बालीमा जोड दिनुपर्छ । व्यावसायिक रुपमा कुखुरा, बाख्रा, भैँसी, मौरी पालन गरी दूध, दही, घिउ, चिज उत्पादन गरिनुपर्छ । त्यस्तै अचार, जुस, सुकुटी उत्पादन एवं जडीबुटी खेती र प्रशोधनमा जोड दिनुपर्छ । नेपालमा कृषि बजारको प्रचुर सम्भावना छ । कृषिमा धेरै जनसंख्या आश्रित छन् । आयात प्रतिस्थापनको ठूलो हिस्सा स्थानीय बजारलाई सुनिश्चित गर्नुपर्छ । न्यून पुँजीमै शुरु गर्न सकिने व्यवसाय गर्नका लागि केही चुनौती पनि देखिन्छन् । जस्तै– परम्परागत खेती प्रणाली छ ।

बजार र मूल्य सुनिश्चितताको अभाव, सिंचाइ र प्रविधिको कमी, किसान–व्यवसायी समन्वय कमजोर देखिएको छ । साना तथा घरेलु उद्योगमा ढाका, अल्लो, ऊन, हस्तकला, काष्ठकला, धातुकला, माटोका भाँडा अगरबत्ती, साबुन, मैनबत्ती, फर्निचर तथा साना वर्कसपलगायत अहिलेको डिजिटल प्रविधियुक्त व्यापार व्यवसाय सञ्चालन गर्न सकेको अवस्था छैन । यद्यपि हाम्रो सुन फलाउने माटोमा पर्याप्त मात्रामा सम्भावना पनि छ । पर्यटनको प्रचुर सम्भावना छ । नीतिगत व्यवस्था गर्नुपर्छ, हजारौं युवा पर्यटक गाइड गरेर मात्र राम्रो जीवनयापन गर्न सक्छन् । सीप र परम्परामा आधारित व्यवसाय सञ्चालन गर्न उचित वातावरण दिनुपर्छ । महिला तथा ग्रामीण क्षेत्रमा उपयुक्त पर्यटन र निर्यातसँग जोड्न सकिने व्यवसाय सञ्चालन गरेर विदेशी आयातीत वस्तुमा बन्देज वा अधिकतम कर लगाउने नीति राज्यले लिनुपर्छ । त्यसैले अब सबै नेपाली नागरिक व्यवसायी, सबै नेपाली व्यवसायी नेपाली नागरिक बनाउन देशमा सुशासन र उद्यमशीलता अपरिहार्य छ ।