काठमाडौं ।
भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान संकलन गरेको छ । सो घटनाका सम्बन्धमा आयोगको टिमले आइतबार पूर्वप्रधानमन्त्री ओलीको निजी निवास, भक्तपुरको गुण्डु पुगेर स्टेटमेन्ट लिएको हो । आयोगका सहसचिवसहितको समूहले ६० वटा प्र्रश्नको जवाफ लिखित रूपमा लिन खोजे पनि पछि रेकर्डिङ गरिएको थियो ।
यसअघि पूर्वगृहमन्त्री रमेश लेखकले आयोगमा लिखित बयान बुझाइसक्नुभएको छ ।आयोगले ओलीलाई सार्वजनिक रूपमा कार्यालयमै बोलाएर बयान लिने घोषणा गरे पनि ओलीको निवासमै पुगेर आयोगले सो प्रक्रिया पूरा गरेको हो । ओलीले आयोगको वैधानिकता र प्रक्रियाप्रति आलोचना गर्दै बयान नदिने बताउँदै आउनुभएको थियो । आयोगका एक सदस्यले सहसचिवलगायतको टोलीले ओलीसँग बयान लिएको विवरण रेकर्डिङ गरेको बताए ।
भदौ २३ गते बिहान राजधानीलगायत देशका मुख्य सहरमा ठूलो संख्या युवा–जनताको समूह ‘जेन–जी आन्दोलन’को नारासहित सडकमा उत्रिएको थियो । आन्दोलनकारीले भ्रष्टाचार, कुशासन, बेरोजगारी र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी गम्भीर गुनासो उठाएका थिए । २४ भदौमा केही समूहले सरकारी संरचनाहरूमा आगजनी, तोडफोड र लुटपाटको बाटो अपनाएका थिए । सार्वजनिक भवन, प्रहरी चौकी, सरकारी कार्यालय तथा निजी सम्पत्तिलाई लक्षित गरिएको थियो ।
छानबिन आयोगको जिम्मेवारीपूर्ण तथ्य संगालेर निष्पक्ष प्रतिवेदन दिनु र सर्वोच्च अदालतमा आवश्यक सिफारिस पेस गर्नु हो । आयोगले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री तथा सम्बन्धित सुरक्षा निकायका प्रमुखहरूबाट बयान लिइरहेको छ ।ओलीको निवास पुगेर बयान लिइएको कदमले केहीले आयोगप्रतिको विश्वासमा शंका ल्याएको बताइरहेका छन्, तर आयोग भने कुनै व्यक्ति विशेषलाई संरक्षण नदिने, सत्यलाई अघि बढाउने दाबी गर्दै अगाडि बढिरहेको देखिन्छ ।
राजनीतिक विश्लेषकहरूले आयोगले प्रतिवेदन सार्वजनिक गर्दा देशभरिका घटनाहरूको जिम्मेवारी र दोषीहरूलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।











प्रतिक्रिया