अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न एक व्यक्ति पक्राउ


काठमाडौं। 

 अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (Illegal VOIP) सञ्चालन गरिरहेको अभियोगमा काठमाडौंको ज्ञानेश्वरबाट एक व्यक्ति पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा नेपाल टेलिकम र एनसेल प्रा.लि.को प्राविधिक सहयोग तथा समन्वयमा खटिएको सम्बन्धित ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वरस्थित COSTCO INFORMATION TECHNOLOGY PVT. LTD. मा छापा मारी कल बाइपास भइरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३० वर्षीय राजन राजबंसी रहेका छन्। उनको स्थायी ठेगाना झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ०२ भए पनि हाल काठमाडौं महानगरपालिका वडा नं. ०४ धुम्बाराहीमा बसोबास गर्दै आएका थिए।

छापामारीका क्रममा अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका राउटर, SIPPBX, कम्प्युटर, मोनिटर, UPS लगायतका विभिन्न उपकरणहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।