नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशत


काठमाडौं ।

आर्थिक वर्ष २०८१-८२ मा नेपालको आर्थिक वृद्धि उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको हो ।

आर्थिक वर्ष २०८१-८२ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२ प्रतिशत, १२.८ प्रतिशत र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । प्रदेशगत रूपमा कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको १५.९ प्रतिशत हिस्सा छ । कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.२ प्रतिशत मात्र रहेको छ ।

त्यस्तै राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२-८३ मा मुद्रास्फीति कम रहने अनुमान छ । इन्धन र खाद्यान्न मूल्य घटेको, ब्याजदर घट्दो क्रममा रहेको, जलविद्युत् उत्पादन बढेको, पर्यटन, निर्यात र विप्रेषणमा वृद्धि भएको तथा मौद्रिक सहजताका कारण आर्थिक क्रियाकलाप सकारात्मक हुने राष्ट्र बैंकको भनाइ छ । निर्माण र उत्पादनमूलक क्षेत्र विस्तार हुँदै गएकाले औसतभन्दा बढी वृद्धि हुने अपेक्षा छ । सरकारले सुशासन प्रवद्र्धन, पुनर्निर्माण र आयोजना प्राथमिकीकरण गर्दा अर्थतन्त्र चलायमान हुने अनुमान छ । प्रतिवेदनले नेपालको अर्थतन्त्रमा कृषि र पर्यटनको योगदान बढेको तर उद्योग र निर्माणमा चुनौती रहेको देखाएको छ।

समीक्षा वर्षमा प्रमुख कृषि बालीको उत्पादन ३.७ प्रतिशतले वृद्धि भए पनि यस्ता बालीले ढाकेको क्षेत्रफल २.२ प्रतिशतले घटेको छ । तरकारी उत्पादन १०.१ प्रतिशत र मसला उत्पादन ०.७ प्रतिशतले बढेको छ भने फलफूल उत्पादन ३.३ प्रतिशतले घटेको छ । त्यस्तै पशुजन्य उत्पादनतर्फ दूध उत्पादन १ प्रतिशत र मासु उत्पादन ०.३ प्रतिशतले घटेको छ भने अण्डा उत्पादन १ प्रतिशतले बढेको छ । वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन ८.८२ प्रतिशत र दाउरा उत्पादन ४.७४ प्रतिशतले वृद्धि भएको छ । औषधिजन्य वनस्पतिको उत्पादन भने १.९१ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४४.५ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ४८.३ प्रतिशत रहेको थियो । २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३०.४२ प्रतिशत रहेको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.५ प्रतिशतले र कर्जा प्रवाह ८.२ प्रतिशतले वृद्धि भएको छ। औसत कर्जा–निक्षेप अनुपात ७६.६ प्रतिशत पुगेको छ। कुल निक्षेप र कर्जामा बागमती प्रदेशको हिस्सा क्रमशः ६५.८ प्रतिशत र ५९.५ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८१-८२ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १.७ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८ सय ३४ पुगेको छ। समीक्षा वर्षमा घर तथा भवनको नक्शा पास संख्या १.२ प्रतिशतले घटेको छ भने घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त हुने राजस्व १८.६ प्रतिशतले घटेको छ ।

समीक्षा वर्षमा सवारी साधन दर्ता ३७.८ प्रतिशतले बढेको छ । पूर्वाधारतर्फ १,२३५ किलोमिटर कालोपत्रे सडक, २८७ किलोमिटर ग्राभेल सडक र ३०१ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ भने ३७० किलोमिटर सडक मर्मत गरिएको छ ।आर्थिक वर्ष २०८१÷८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ३ करोड रुपियाँ पुगेको छ । कुल वस्तु आयात भने १३.३ प्रतिशतले वृद्धि भई १८ खर्ब ४ अर्ब १२ करोड रुपियाँ पुगेको छ । समीक्षा वर्षमा पुनः श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीमा जानेको संख्या ८ लाख ३९ हजार २ सय ६६ पुगेको छ । यसमध्ये मधेस प्रदेशको हिस्सा सबैभन्दा बढी २३.१ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ३.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा संघीय सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँ बजेट विनियोजन गरेकोमा अर्धवार्षिक समीक्षापछि संशोधन गरी १६ खर्ब ९२ अर्ब ७३ करोड रुपियाँ कायम गरिएको थियो । आर्थिक वर्षको अन्त्यसम्ममा १५ खर्ब १२ अर्ब ९८ करोड रुपियाँ अर्थात् ८९.४ प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेश सरकारहरूको कुल विनियोजित बजेट २ खर्ब ७८ अर्ब ७० करोड रुपियाँ रहेको थियो। यसमध्ये चालुतर्फ ३०.८१ प्रतिशत, पुँजीगततर्फ ५७.९२ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ०.७८ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ १०.४९ प्रतिशत खर्च भएको छ ।