देशका विभिन्न भागमा हुस्सु र हिमपातको सम्भावना


काठमाडौँ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा बद्लिएको अवस्था देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा हुस्सु लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो तराई क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसको बीचमा रहने अनुमान गरिएको छ।

हुस्सु र सम्भावित वर्षा तथा हिमपातका कारण जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।