फोहोरमैलाबाट लाखौं आम्दानी गर्दै भीरकोट

752
Shares

स्याङ्जा। 

नेपालको राजधानी काठमाडौं लगायतका मुख्य शहरहरुमा फोहोरमैला व्यवस्थापन एक प्रमुख चुनौती  बनिरहेका बेला स्याङ्जाको बालमैत्री नगरपालिका भीरकोटले भने फोहोरमैला ब्यवस्थापनबाटै बार्षिक  लाखौं  आम्दानी गर्न थालेको छ । फोहोरलाई श्रोतको रुपमा उपयोग गर्दै मोहरमा रुपान्तरण गरेर भीरकोट नगरपालिकाले लाखौं रुपैयाँ राजश्व संकलन गरेको छ । नगरका प्रमुख बजार क्षेत्रमा संकलित फोहोर र कवाडीलाई मोहरमा रुपान्तरण गरेर नगरपालिकाले लाखौं रुपैयाँ राजश्व आर्जन गरेको हो । नगरपालिकाभित्र उत्सर्जन हुने फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाले वडा नं. ४ मा संघीय विशेष अनुदान र नगरपालिकाको  २ करोड ७४ लाख ८५ हजारको लगानीमा पार्क, प्रशासनिक भवन सहितको व्यवस्थित र वातावरणमैत्री सरसफाई केन्द्र निर्माण गरेको छ ।

नगरपालिकाले बजारक्षेत्रबाट संकलन हुने फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्ने र पुनः प्रयोगमा आउने सिसा, फलाम र प्लाष्टिकजन्य फोहोरलाई बिक्री वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा नगरपालिकाले नगरका प्रमुख बजार क्षेत्र सरसफाइ, फोहोर व्यवस्थापन र पार्क सञ्चालनबाट कुल १६ लाख २० हजार ४ सय १५ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले फोहोर संकलन, व्यवस्थापन र बिक्रीसमेत गरी सरसफाइ शुल्क वापतमात्रै ७ लाख ८ हजार ३ सय ३० रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।  नकुहिने तर पुनः प्रयोग गर्न नसकिने फोहोरलाई भने खाल्डोमा पुरी व्यवस्थापन गर्ने गरिन्छ ।  

करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको सरसफाई केन्द्रलाई सुन्दर र दुर्गन्धरहित बनाउन नगरपालिकाले आधुनिक मेसिनको प्रयोग गरी कुहिने वस्तुबाट जैविक मल उत्पादन गर्ने गरेको छ । नगरपालिकाले पार्क प्रबेश शुल्क, बनभोजबाट ३ लाख १७ हजार ६ सय ७५ रुपैयाँ, कवाडी बिक्री वापत ५ लाख ६६ हजार ८ सय ८० रुपैयाँ र अन्य विविध शुल्कबाट २७ हजार ५ सय ३० रुपैयाँ राजश्व उठाएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताए । नगरपालिकाको पर्यटकीय क्षेत्र सुन्दरचौर पार्कबाट ५४ हजार ५० रुपैयाँ राजस्व उठाएको नगरप्रमुख कर्माचार्यले जानाकारी दिए । यहाँ उत्पादन गरिएको जैविक मल पार्कमा फूल गोडमेलमा प्रयोग गरिने कर्माचार्यले बताए ।

सफाइ केन्द्र परिसरमा पर्याप्त मात्रामा वृक्षारोपण पनि गरिएको छ । फोहोर व्यवस्थापन मार्फत स्रोत सिर्जना हुन थालेपछि पछिल्ले समय भीरकोट नगरपालिका हरित अर्थतन्त्रको उदाहरण बन्दै गएको छ । फोहोर व्यवस्थापनसँगै पर्यटन संरचनाबाट राजस्व संकलन, व्यवस्थित प्रशासनिक प्रणाली र निजी क्षेत्रसँगको सहकार्यमा राजश्व वृद्धिमा नगरपालिकाले आन्तरिक छलफल र ध्यान केन्द्रित गरेको छ । पक्की पर्खाल सहितको व्यवस्थित संरचना निर्माण गरिएको सफाइ केन्द्र नजिकै पार्क निर्माण गरिएपछी यसको महत्व बढेको हो ।

सिद्धार्थ राजमार्गबाट नजिकै  शान्त र मनोरम वातावरण भएकाले पनि पार्क आन्तरिक पर्यटकको  रोजाइमा पर्न थालेको छ । फोहोरबाट आम्दानी गरेको नगरपालिकाले पर्यटन क्षेत्रको सक्रियता बढाएर राजश्व संकलन गर्ने तयारी गरेको छ । राजश्व संकलनलाई विविधिकरण गरेको भीरकोटले ‘हरित र पर्यटन’ दुवै मोडेलमा देशभर उदाहरण बन्ने अपेक्षा गरेको छ । भीरकोटले हरित अर्थतन्त्रको ढोका खोलेको दाबी गर्दै पर्यटन क्षेत्रबाट पनि आम्दानी बढाउन सक्नेमा स्थानीय विश्वस्त छन् । फोहोरमैला व्यवस्थापनको निम्ती सरसफाई केन्द्रमा १० जना कर्मचारी कार्यरत छन् ।

फोहोरमैला व्यवस्थापन एवं   बिक्रीबाट आन्तरिक राजस्वमा समेत टेवा पुगेको छ । उता नगरपालिकाले पर्यटकीय सम्भावना बोकेको स्वरेक मैदान लगायतका क्षेत्रबाट अपेक्षित आम्दानी गर्न सकेको छैन । पोखरापछिको वैकल्पिक प्याराग्लाईडिङ्ग एयरस्पोट्र्सका रुपमा परिचित  भीरकोट नगरपालिका–५ स्वरेक मैदानबाट राजश्व शीर्षकमा रकम उठ्न नसकेको नगरपालिकाका योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले बताए । २०७५ सालमै प्याराग्लाइडिङ्ग प्रतियोगिताको विश्वकप आयोजना भएको स्वरेक मैदानमै दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ स्कुल सञ्चालनमा छ । बालमैत्री नगरपालिका भएकाले पर्यटकीय पूर्वाधारहरु पनि सोही अनुशार विकास गर्ने लक्ष्य लिइएको नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले बताए । निवर्तमान नगर प्रमुख छायाराम खनालको परिकल्पना र सक्रियतामा निर्माण भएको पार्क भीरकोटको पहिचान बन्न लागेकोमा नगर प्रमुख कर्माचार्यले खुशी व्यक्त गर्नुभयो । नगरपालिकाले वडा नं १ को बयरघारी, दार्सीङ, हेलु, वडा नं २ को बयरघारी, दहथुम, वडा नं ४ को झारुङखोला, गैह्राथोक, छाङ्गछाङ्गदी तथा वडा नं ५ र ६ को सुन्दरबजार क्षेत्रबाट नियमित रुपमा फोहरमैला संकलन गरिरहेको छ ।